जेठ–४, खोटाङका गैर–सरकारी संस्थाहरुले भूकम्प पिडितका लागि ७० हजार राहत रकम संकलन गरेको छ । गैर–सरकारी संस्था महासंघको पहलमा जिल्लाका गैर–सरकारी संस्था तथा गैर–सरकारी संस्थामा आवद्ध कर्मचारीबाट ७० हजार राहत रकम संकलन गरिएको हो । संकलन गरिएको राहत रकम भूकम्प पिडितले पाउनेगरी नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङको खातामा जम्मा गरिएको गैर–सरकारी संस्था महासंघका उपाध्यक्ष चक्रकुमार राईले जानकारी दिनुभयो । 
रेडक्रसको खातामा जम्मा गरिएको रकमको भौचर आईतबार महासंघका अध्यक्ष दिपनारायण रिजालले रेडक्रसका सभापति कुमारसिं बस्नेतलाई हस्तान्तरण गरेका छन् । जिल्लाका क्रियासिल गैर–सरकारी संस्था तथा गैससकर्मीको तलव कटाएर भूकम्प पिडितकालागि राहत रकम संकलन गरिएको हो । रेडक्रसका सभापति बस्नेतले रेडक्रसको खातामा जम्मा भएको रकम वास्तबिक भूकम्प पिडितको हातमा पु¥याउने प्रतिबद्धता जनाउनु भयो । ‘तपाईहरुले बिश्वास गरेर दिनुभएको रकम पिडितकै हातमा पु¥याउने छौँ,’ बस्नेतले भन्नुभयो, ‘यो रकममा एक पैसा पनि तलमाथि हुन्न ।’ कार्यक्रममा हिमाली क्लवका अध्यक्ष नारायणप्रसाद जोशी, जनसेवा समाजका अध्यक्ष दानबहादुर राई, साकेला क्लवका अध्यक्ष कबीकुमार राई, नेपाल पत्रकार महासंघका अध्यक्ष दमन राई लगायतको उपस्थिति थियो । 
यसअघि भूकम्प पिडितको सहयोगार्थ खोटाङका दश राजनैतिक दल, नेपाल रेडक्रस सोसाईटी, खोटाङ उद्योग बाणिज्य संघ, गैर–सरकारी संस्था महासंघ, खोटाङ यातायात व्यवसायी संघ लगायतका संघ–संस्थाको पहलमा संकलन भएको ३ लाख ९ हजार ५७३ रुपैयाँ राहत रकम वितरण गर्ने जिम्मा पनि रेडक्रसलाई नै दिइएको छ । सो राहत रकमबाट भूकम्प पिडितलाई टनेल खेतीमा प्रयोग गरिने ‘सिलपोलिस’ नामक प्लाष्टिकको थान खरिद गरेर प्रदान गर्ने तयारी गरिएको छ । बिपदका समयमा छानाकारुपमा प्रयोग गर्ने र पुःर्नस्थापित भएपछि प्लाष्टिक खेतीमा प्रयोग गर्न सकिने भएकाले भूकम्प पिडितलाई ‘सिलपोलिस’ प्लाष्टिक प्रदान गर्ने तयारी गरिएको रेडक्रसले जनाएको छ । 
जिल्ला दैबीक प्रकोप उद्धार समितिका अनुशार एक नगरपालिका र ७२ गाबिस रहेको खोटाङमा दुई हजार ११० घर भत्किदा १४ हजार बढि बिस्थापित छन् ।