जेठ–४, महाभूकम्पबाट विस्थापित बनेका परिवारलाई जिल्लाका दुई सभाषद्ले आ–आफ्नो निर्वाचन क्षेत्र विकास कोषबाट एक÷एक लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् । बैशाख–१२, १३ र २९ गतेको भूकम्पबाट विस्थापित बनेका परिवारलाई उद्दार गर्ने उद्देश्यले सभाषद्द्धय विशाल भट्टराई र पाँचकर्ण राई ‘पिके’ले आ–आफ्नो निर्वाचन क्षेत्रको संसदीय विकास कोषबाट एक÷एक लाख रुपैयाँ बजेट उपलब्ध गराएका हुन् ।
विनियोजित बजेट नेपाल रेडक्रश सोसाईटी जिल्ला शाखा खोटाङमार्फत पीडित परिवारलाई उपलब्ध गराउनेगरी रेडक्रसको खातामा जम्मा गरिएको पत्रकार सम्मेलनमा जनाइएको छ । यस वर्ष छुट्टिएको निर्वाचन क्षेत्र विकास कोषको १५÷१५ लाख रुपैयाँ बजेटबाट कटाएर एक÷एक लाख रुपैयाँ भूकम्पपीडितलाई उपलब्ध गराइएको क्षेत्र नम्बर–२ बाट निर्वाचित सभाषद् भट्टराईले जानकारी दिनुभयो ।
जिल्ला दैवीप्रकोप उद्दार समितिले दिएको जानकारी अनुसार हालसम्म जिल्लामा दुई हजार दुई सय १४ घरपरिवारका १२ हजार नौं सय ५३ जना विस्थापित भएका छन् । भूकम्पले जिल्लामा मानवीय क्षति नगरेपनि धेरै भौतिक संरचनामा क्षति पुगेको जिल्ला दैवीप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले जानकारी दिनुभयो ।
एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा पाँच हजार एक ३६ घरमा आंशिक क्षति भएको समितिले जनाएको छ । एक सय ८३ विद्यालय पूर्णरुपमा क्षति भएको छ भने, १९ वटा सरकारी कार्यालय पूर्णरुपमा र ५९ वटामा आंशिक क्षति भएको जनाइएको छ ।
क्षतिको विवरण आउनेक्रम जारी रहेकाले अझै बढ्न सक्ने समितिले जनाएको छ । भौगोलिक बिकटताका कारण क्षतिको विवरण आउन ढिलाइ भएको प्रजिअ सापकोटाको भनाइ छ ।