जेठ–६, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले जिल्लाका भूकम्प पिडितकालागि तीन हजार थान बढि पाल बितरण गरेको छ । गत बैसाख–१२ गतेको महाभूकम्पले घर भत्किएर र चर्किएर बिस्थापित बनेका जिल्लाका भूकम्प पिडितलाई रेडक्रसले आफ्नै क्षेत्रीय र केन्द्रीय कार्यालय तथा संघसंस्थाबाट जुटाइएको तीन हजार ७५ थान त्रिपाल बितरण गरेको हो । भूकम्प लगत्तै रेडक्रसको क्षेत्रीय र केन्द्रीय कार्यालय, उद्योग बाणिज्य संघ, शुभद्रा मदन फाउण्डेसन, स्वीस बिकास नियोग, जि–फाउण्डेसन, लाक्पा फुटी शेर्पा ट्रष्ट र जनबोली न्यूज नेटवर्क, अम्बे सहकारी संस्था इटहरी, रोजन राई लगायतबाट जुटाइएको त्रिपाल भूकम्प पिडितलाई वितरण गरिएको नेपाल रेडक्रस शाखाका सभापति कुमारसिं बस्नेतले बताउनु भयो । 
फाईल तस्बिर
भूकम्प पिडितकालागि शाखामा हालसम्म ४ हजार ४२५ थान त्रिपाल प्राप्त भएको रेडक्रसले जनाएको छ । प्राप्त भएकामध्ये १ हजार ३५० थान त्रिपाल वितरणका लागि तयारी अवस्थामा राखिएको बस्नेतले बताउनु भयो । रेडक्रसले हालसम्म ३ हजार ९७९ थान कम्बल, एक सय थान प्लाष्टिकको गुन्द्री, पाँच सय थान जेरी क्यान, ११० थान मेट्रेस, ३ हजार ४५० पिस डिटोल साबुन, ५ हजार १७५ मिटर कपडा, १ हजार ७२५ वटा पियूस, ३ सय केजी चिउरा र १० काटन चाउ–चाउ वितरण गरिसकिएको जनाएको छ । 
शाखामा अझै १० थान सिल्पोलिन पाल, १५० कम्बल, ४३६ थान मेट्रेस, एक हजार थान ड्राइपर, हजार थान सेनीटरी प्याड, हजार जोर माक्स र ग्लोभ्स, १० काटन चाउचाउ र पाँच सय प्याकेट जीवनजल वितरणकालागि तयारी अवस्थामा राखिएको सभापति बस्नेतले बताउनु भयो । 
जिल्ला दैबीक प्रकोप उद्धार समितिका अनुसार ४२ हजार घर रहेको जिल्लामा २ हजार २१४ घरपरिवारका १२ हजार ९५३ जना विस्थापित छन् ।