
जेठ–७, बैशाख–१२ गतेको महाभूकम्पले घर र मतान पूर्णरुपमा भत्किएपछि खोटाङका दुई परिवारको शौचालय नै भान्छा कोठा बनेको छ । बस्दै आएको घर र मतान भूकम्पले पूर्णरुपमा भत्किएपछि सप्तेश्वर छितापोखरी–८ वातिखुमका प्रदीप गिरी र पर्शुराम गिरीको परिवारले शौचालयलाई नै भान्छा कोठाकोरुपमा प्रयोग गर्न सुरु गरेका हुन् । केही समयअघि खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको सप्तेश्वर छितापोखरीका गिरी परिवारले नयाँ शौचालयलाई भान्छा कोठाकारुपमा प्रयोग सुरु गरेको बताएका छन् ।
दिशापिसाव गर्नकालागि बनाइएको शौचालयलाई प्रयोगमा ल्याउन अगावै भूकम्पले निम्त्याएको बिपत्तीका बेलामा उनीहरुले शौचालयलाई भान्छा कोठा बनाएका हुन् । ‘घरमा नयाँ शौचालय बनाइएको थियो, तर प्रयोगमा ल्याइएको थिएन,’ प्रदीपले भने, ‘घर मतान ढलेपछि शौचालय भित्रै खाना पकाउन थालेको हौँ ।’ खुल्ला ठाउँमा आगो बालेर अगेना जोड्नुभन्दा साँघुरो भएपनि शौचालयभित्र आगो बाल्नु सुरक्षित हुनेभएकाले शौचालयमै भान्छा पकाउन थालिएको उनले बताए । घर भत्किए पनि उनीहरुको नयाँ शौचालय भत्किएन । त्यही भएर उनीहरुले त्यही शौचालयमा खाना बनाउन थालेका हुन् ।
भूकम्पले घर भत्किएपछि प्रदीपका श्रीमती र छोराछोरीसहित ९ जनाको परिवार पालमुनि बसिरहेका छन् । यस्तै, पर्शुराम ८० वर्षका बृद्धा आमा, श्रीमती, छोराबुहारी र एक वर्षका नाती सहित पाल टाँगेर खुल्ला चौंरमा बसिरहेका छन् । पालमुनिको चिसोका कारण बृद्धा र बालकको स्वास्थ्यमा समस्या आएको स्थानीय अमृत गिरीले बताउनु भयो । ‘बिस्थापित परिवार शौचालयलाई भान्छा कोठा बनाएर जेनतेन बसिरहेका छन्,’ अमृतले भने, ‘तर बृद्धा र बच्चालाई चिसोले सताउन थालेको छ ।’
![]() |
भूकम्पले घर भत्किएपछि शौचालयभित्र मकै भुट्दै सप्तेश्वर छितापोखरीका प्रदीप गिरीको परिवार । |
भूकम्पबाट बिस्थापित गिरी परिवारले १२ दिनपछि मात्र राहत पाएको बताएका छन् । त्रिपाल पाउनुअघि उनीहरु छिमेकीले दिएको जस्तापाताले बारेर छाप्रो बनाएर बसिरहेका थिए । नयाँ घर बनाउँदै गरेका छिमेकीले जस्ता ल्याएर राखेका थिए । बिपत्तीकाबेलामा केही समयकालागि गिरी परिवारलाई त्यही जस्ता प्रयोग गर्न दिइएको थियो । यस्तै, भूकम्पका कारण सप्तेश्वरछितापोखरी–८ का मसिनमान दर्जी, अर्जुन मोते, शिबलाल राई लगायतको घर पूर्णरुपमा ढलेको छ । उनीहरु पनि पालमा बसिरहेका छन् ।
५२५ घर परिवारको बसोबास रहेको गाबिसका ६० घर पूर्णरुपमा भत्किएको गाबिस सचिव दिनेश ढुंगानाले बताउनु भयो । पछिल्लो पटक गएको भूकम्पले भत्किएको घरहरुको तथ्यांक भने संकलन भइरहेको ढुंगानाको भनाई छ । ‘पहिलाको भूकम्पले ६० घर पूरै भत्किएको छ,’ ढुंगानाले भन्नुभयो, ‘पछिल्लो पटक भत्किएको २३ घरको मात्र तथ्यांक आएको छ, पूरै तथ्यांक ल्याउन केही समय लाग्छ ।’