जेठ–९ । भूकम्पका कारण जिल्लामा जेठ पहिलो साता गर्ने भनिएको खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता अन्यौलमा परेको छ । बैशाख–१२ गतेको महाभूकम्पले ठूलोमात्रामा क्षति पु¥याएपछि जेठ–५ गतेदेखि ७ गतेसम्म सञ्चालन गर्ने भनिएको ‘प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता २०७२’ अन्यौलमा परेको हो ।
प्रतियोगिता सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको थियो । बैशाख–१२ गतेको महाभूकम्पका कारण देश संकटमा परेकाले प्रतियोगिता स्थगित गरिएको मुल आयोजक समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा आएको महाभूकम्पले जिल्लामा पनि ठूलो क्षति पु¥याएको छ, प्रतियोगिता भन्दा पीडितको उद्दार पहिलो प्राथमिकता भएकाले तत्कालका लागि प्रतियोगिता स्थकित गरिएको हो ।”
गत बैशाख–१ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रतियोगिता बन्द, आर्थिक अभाव लगायतका कारण जेठ पहिलो हप्ता सारिएको थियो । जेठ–१ गतेका लागि तय गरिएको मितिलाई समेत बैशाख–१२ गते आएको महाभूकम्पले असर पु¥याएकाले प्रतियोगिता स्थगित गरिएको नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । उहाँले भन्नुभयो, “खेल सँस्कृतिको विकास गर्दै खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जिल्लालाई परिचित गराउने उद्देश्यले प्रतियोगताको आयोजना गरिएको थियो, यसका लागि सबै तयारी पूरा भएपनि बैशाख–१२ गतेको महाभूकम्पले ठूलो क्षति पु¥याएकाले तत्कालका लागि स्थगित गरिएको हो ।”
करिब ३५ लाखको लागतमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिता सफल पार्नका लागि जिल्लास्थित सरकारी तथा गैंरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु उपसमितिमा समेटिएका थिए । जेठ पहिलो साता सञ्चालन गर्ने भनिएको प्रतियोगिताका लागि संघले आवश्यक सामाग्री जुटाइसकेको जनाएको थियो ।
सदरमुकाम दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सञ्चालन गर्ने तयारी गरिएको प्रतियोगितामा प्रथम, दोश्रो, तेश्रो र चौथो हुने समूहले क्रमशः एक लाख, ७० हजार, ४० हजार, २० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने जनाइएको थियो । प्रतियोगितामा अनुशासित समूह, उत्कृष्ट मार्चपास गर्ने समूह, उत्कृष्ट महिला तथा पुरुष खेलाडी, उत्कृष्ठ टिम कोच, उत्कृष्ट टिक व्यवस्थापक, अनुशासित पुरुष तथा महिला खेलाडीलाई दश÷दश हजार नगदका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने तयारी गरिएको थियो ।
प्रतियोगितामा नेपालका पाँचै विकास क्षेत्र, विभागीय टिम नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल विश्व विद्यालय तथा भारत, भुटान, बंलगलादेश र श्रीलङ्काको सहभागिता रहने आयोजकले जनाएको थियो । १८ समूहको सहभागिता रहने जनाइएको प्रतियोगितामा चार सय ५० जना खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको थियो ।