जेठ–१०, फोक्सिङटारको अस्थायी बेलीब्रिज झिकिएसँगै खोटाङ जिल्ला तराईसँगको सिधा यातायात सेवाबाट बिच्छेद भएको छ । नदीमा पानीको बहाव बढेसँगै जिल्लाको दक्षिणी गाविस लिच्कीराम्चे र उदयपुरको आँपटार गाविस जोड्ने फोक्सिङ्टारस्थित सुनकोसी नदीमा हालिएको अस्थायी बेलीब्रिज झिकिएसँगै जिल्ला तराईसँगको सिधा यातायात सेवाबाट बिच्छेद भएको हो ।
जिल्लाबाट तराई लगायत अन्य जिल्ला पुग्न सबैभन्दा छोटो मार्गका रुपमा रहेको महुरे–फोक्सिङटार सडक खण्डमा पर्ने सुनकोसी नदीमा हालिएको अस्थायी बेलिब्रीज बिहीबारबाट झिकिएको सडक विभागले जनाएको छ । सुनकोसी, दुधकोसी, तामाकोसी, लिखु र ईन्द्रावतिगरि पाँचवटा नदी मिसिएर बग्ने फोक्सिङटारमा पानीको बहाव अत्याधिक बढेपछि बेलिब्रीज झिकिएको ठेकेदार कम्पनीले जनाएको छ ।
गत माघ १७ गतेबाट सञ्चालनमा ल्याइएको बेलिब्रीज झिकिएपछि जिल्लाबासीलाई आवत/जावतका साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । उक्त नदीमा पक्की पुल नबनेसम्म हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेपछि झिक्नेगरी यसै वर्षबाट अस्थायी बेलीब्रिज जडान गरिएको हो ।
जिल्लामा भूकम्पपीडितका लागि राहत सामाग्री ल्याउनेक्रम बाँकी रहेकाले उक्त बेलीब्रिज केहि समय नझिक्न अनुरोध गरिएपनि पानीको बहावका कारण रोक्न नसकिएको खोटाङका प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । प्रजिअ सापकोटा अनुसार उक्त बेलिब्रीज झिकिएपछि जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधान यताको यतै र उताको उत्तै रोकिएका छन् ।