जेठ–१०, हावाहुरी र असिनापानीले जिल्लामा लाखौंको क्षति पुगेको छ । शनिबार साँझ पानीसँगै चलेको हावाहुरी, चट्याङ र असिनाले जिल्लामा लाखौंको ठूलो क्षति पुर्‍याएको हो । 
हावाहुरीका कारण जिल्लामा भौतिक क्षति अत्याधिक मात्रामा भएपनि मानवीय क्षति भने, नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हावाहुरीले जिल्लाको दक्षिणी गाविस काहुले र चिसापानीको सिमानामा पर्ने होङ्मापोखरीमा रहेको स्काई तथा नमस्ते मोवाईल टावर ढलेको छ । 
टावर ढलेपछि दक्षिणी क्षेत्रमा पर्ने  २२ भन्दा बढि गाविसका सर्वसाधारण टेलीफोन सेवाबाट वञ्चित भएका छन् । शनिबार करिब आठ बजेतिर चलेको हावाहुरीका कारण दिप्लुङ–५ का कपिलराज राईको घर जलेको छ । 
चुलोमा बलिरहेको आगो हावाले उडाएपछि राईको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट राईको घरमा रहेका नगद २५ हजार सहित अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नस्ट भएको छ । 
हावाहुरीकै कारण ईलाका स्वास्थ्य कार्यालय चिसापानी भवनको छाना उडाएको छ । दुईवटा भवनको छाना उडाएपछि बिरामीलाई सेवा दिन समस्या भएको स्वास्थयकर्मीहरुले जनाएका छन् । 
यस्तै, साबित्रा निमावि देविस्थानको छाना उडाएको छ । देस्थिानकै चौतारा माविको पाँच वटा भवनको छानासहित एक सय २० वाटको सोलार प्यानल उडाएको विद्यालयले जनाएको छ । त्यसैगरी, साकेला उच्च मावि रतन्छाको पनि छाना उडाएको प्रहरीले जनाएको छ भने, देविस्थान गाविस वडा नम्बर–९का सरिमायाँ पुरीको गोठमा रुख ढल्दा हल गोरु र एउटा भैँसी मरेका छन् । हावाहुरीकै कारण रतन्छा गविसको प्रहरी चौकीको छाना र बतासे गाविस्थित भण्डारेघाट प्रहरी चौकीको छाना उडाएको छ । 
शनिबार साँझको हावाहुरी, चट्याङ, आगलागी र असिनाले पुर्‍याएको क्षतिको पूर्ण बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरलले बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरीका कारण जिल्लामा विद्युत र टेलिफोन अवरुद्ध भएकाले क्षतिको बिबरण आउन सकिरहेको छैन, असिनाले पनि अन्नबालीमा ठूलो क्षति पुर्‍याएको छ भन्ने आएको छ ।”
हावाहुरीले जिल्लाका सयौं घर तथा गोठमा क्षति पुगेको जनाएइएको छ । पानीसँगै परेको असिनाले मकै, आलु, फलफूल लगायतमा ठूलो क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 
हावाहुरीले विद्युतमा पनि ठुलो क्षति पुर्‍याएको नेपाल विद्युत प्राधिकरण खोटाङले जनाएको छ । प्राधिकरण शाखा प्रमुख पुरुषोतम गेलालका अनुसार छोरम्बु गाविसको पिप्ले, बुइपाको रिठ्ठाबोटे, लफ्याङ, दोर्पाचिउरीडाँडा, खाल्ले, सोल्मा, बाम्राङ, ओख्रेडाँडागाँउ, मात्तिम लगायका ठाँउमा रुख ढलेर पोल भाँचेको जानकारी प्राप्त भएको छ ।