जेठ–१५, खोटाङ सदरमुकाम दिक्तेलमा आयोजना गरिएको सूचनाको हक र खोज पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघको आयोजना, युनेस्को र युरोपियन युनियनको आर्थिक सहयोगमा आयोजना गरिएको पाँच दिने तालिम शुक्रबार सम्पन्न भएको हो । खोज पत्रकारिताका लागि सूचनाको हकको विषयमा अनिवार्य ज्ञान राख्नुपर्ने भएकाले महासंघले केन्द्रीय कार्यालयको समन्वयमा तालिमको आयोजना गरेको हो । सदरमुकाम दिक्तेलस्थित थ्री ब्रदर्श होटलमा सञ्चालन गरिएको तालिममा खोटाङ, भोजपुर लगायतका २५ पत्रकारहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।
जेठ–११ गतेबाट सञ्चालन सुरु गरिएको तालिममा संविधानविद एबं उच्च प्रशासनिक सुधार अनुगमन आयोगका अध्यक्ष काशीराज दाहाल, पत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्साल, पत्रकार यज्ञराज शर्मा, आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सचिव राजेश चाम्लिङ, युनेस्कोको सुचनाको हक परियोजनाका संयोजक जीतबहादुर बिश्वकर्माले सहजीकरण गरे । तामिलममा सूचनाको हक, सूचनाको महत्व र सूचना माग्ने विधि, खोजपत्रकारिता र सुचनाको हकको सम्बन्धका बिषयमा जानकारी दिइएको शाखाका सहसचिव केदार मगरले बताउनुभयो ।