जेठ–१७, घडेरी सम्याउनेक्रममा खोटाङमा पाइप बम फेला परेको छ । दिक्तेल नगरपालिका–१ स्थित नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाको कार्यालय नजिक घडेरी सम्याउँदै गर्दा दुई थान पाइप बम फेला परेको हो ।
आईतबार दिउसो घडेरी सम्याउनेक्रममा कामदारले फेला पारेको बम नेपाली सेनाको बम डिस्फोजल टोलीको सुरक्षा घेराभित्र राखिएको छ । उक्त बम खतरनाक रहेकाले माथिल्लो निकायको आदेश अनुसार काम गरिने जबरजङ्ग गण मुडे ब्यारेकका गणपति रामबहादुर थापाले बताउनुभयो ।
स्थानीय चन्द्रकला राईको घर निर्माणका लागि घडेरी सम्याउनेक्रममा कामदारले बम फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त बम द्धन्द्धको समयमा नेपाल प्रहरीले आफ्नो कार्यालय सुरक्षाका लागि गाडेको हुनसक्ने जनाइएको छ ।
उक्त क्षेत्रको विभिन्न ठाउँमा अझै पनि बम हुन सक्ने स्थानीयले जनाएका छन् । उक्त क्षेत्रमा यसअघि पनि विभिन्न प्रकारका बम फेला पर्ने परेको थियो ।