जेठ–२०, भर्‍याङ नाट्य समुह खोटाङले सदरमुकाम दिक्तेलमा ‘झुपडीको व्याथा’ नामक नाटक मञ्चन गरेको छ । सडक नाटक तथा हाँस्यव्यंग्य प्रहसन देखाउँदै आएका युवायुवतीको क्रियासिलतामा केही समयअघि गठन गरिएको नाट्य समुहले जिल्लामै पहिलोपल्ट स्टेजमा नाटक देखाएको हो । 
पञ्चायतकालिन परिबेसलाई प्रतिबिम्वित गरिएको मेम्बर राईको नाटकलाई समुहले रंगमञ्चमा उतारेको हो । नाटकमा स्थानीय कलाकारको हाउभाउ, प्रस्तुती र सजीसजाउ अन्य व्यवसायीक रंगकर्मीकोभन्दा फरक रहेन । समिक्षालय हलमा प्रदर्शन गरिएको नाटकका माध्यमबाट कलाकार धेरै दर्शकलाई रुवाउन र धेरै दर्शकलाई हँसाउन सफल भएका छन् । हलमा उपस्थित दर्शकको प्रतिक्रिया र प्रोत्साहनले थप उत्साह थपिएको भ¥याङ नाट्य समुहका कोषाध्यक्ष योगीन राईले बताउनुभयो । ‘यसरी स्टेजमै नाटक देखाइएको पहिलो हो, नरुचाइएला भन्ने डर थियो,’ कोषाध्यक्ष राईले भन्नुभयो, ‘तर दर्शकले नाटक मन पराइदिनुभयो, हाम्रो उत्साह थपिएको छ ।’ 
पञ्चायतकालिन सामन्तीले गरेका थिचोमिचोलाई उतारिएको नाटकका हरेक ‘सिन’मा दर्शकको ताली बजिरह्यो । पञ्चायतकालिन शासकको शोषण र थिचोमिचो भोगेका अधिकांश पाको उमेरका दर्शकलाई नाटकको दृश्यले बिगतलाई सम्झाए, उसबेलाको झ–झल्को दिलाए । साहुमहाजनको अन्यय, अत्याचार र पेलान भोगेका दर्शकहरुको आँखामा आँशु छचल्किएको देखिन्थ्यो । न कुनै तालिम न त कुनै अभ्यास नै । नाटकमा सञ्जीव राई, प्रकाश रिजाल, राजेन्द्र ढुंगाना, योगीन राई, अंकिता राई, यशोधा राई, ममता राई, शुसिला राई, मेलिना राई, जमूना राई, मनीकुमार राई लगायतको भूमीका खुबै रुचाइए । 
जिल्लामा नाटकलाई स्टेजमा उतार्ने र दर्शकलाई मनोरञ्जन दिने औपचारिक प्रयास शायदै भएका छन् । यसको अभाव अनि महत्वलाई आत्मसाथ गर्दै जिल्लामा केही समयअघि नाट्य समुह बिधिवत दर्ता गरिएको समुहका उपाध्यक्ष राजेन्द्र ढुंगानाले बताउनुभयो । ‘झुपडीको व्याथा’बाट नाटक देखाउन थालेको समुहले हरेक महिना फरक–फरक विषयमा नाटक प्रदर्शन गर्ने जनाएको छ । 
जिल्लामा हालसम्म प्रचलनमा नरहेको नाट्य बिद्यालाई शसक्त बनाउनका लागि नाट्य समुहलाई क्रियासिल बनाइएको अध्यक्ष प्रकाश रिजालले बताउनुभयो । ‘जिल्लामा रंगमञ्च र ललितकलालाई प्रोत्साहित र स्थापित गराउनु हाम्रो मूल लक्ष्य हो,’ अध्यक्ष रिजालले भन्नुभयो, ‘कलाका माध्यमबाट हामी जिल्लामा सिर्जनात्मक कामहरु पनि गर्ने छौँ ।’