जेठ–२३, जिल्लाका हिंसापीडित २० महिलालाई सहयोग गरिएको छ । श्रीमानले अर्को विवाह गरेपछि छाडिएका, सम्बन्ध बिच्छेद गरेका र श्रीमान भएर पनि हेरचाह नपाएका जिल्लाका २० महिलालाई सहयोग गरिएको हो ।
महिला तथा बालबालिका कार्यालयले प्रति महिला रु.तीन हजार पाँच सय, जिल्ला प्रशासनको तर्फबाट ३०÷३० केजी चामल र कृषि तथा वातावरण सम्बन्धी काम गर्ने संस्था प्याटको तर्फबाट ब्लाङ्केट उपलब्ध गराएको हो । हिंसापीडित महिलाका लागि कार्यालयको तर्फबाट बाख्रा पालन व्यवसाय सञ्चालन गर्न रकम उपलब्ध गराइएको महिला विकास निरीक्षक भुवन राईले जानकारी दिनुभयो । 
उनीहरुका लागि कार्यालयले बाख्रा पालन सम्बन्धी सात दिने तालिम समेत दिएको राईको भनाइ छ । तालिम समापनको अवसर पारेर उनीहरुलाई शुक्रबार बेलुका सहयोग उपलब्ध गराइएको कार्यालयले जनाएको छ । 
विभिन्न समयमा हिंसामा परेका महिलाहरुलाई छनौट गरेर सहयोग तथा तालिम दिइएको  महिला विकास अधिकृत पुष्पलता उप्रेतीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मानसिक रुपमा समेत पीडित बनेका उनीहरुलाई थोरै भएपनि सहयोग गरिएको छ, सँधै सहयोगले मात्र नपुग्ने भएकाले उनीहरुलाई व्यवसायिक बनाउन तालिम पनि दिइएको हो ।”
हिंसापीडित महिलाहरुलाई सुरक्षित आप्रवाशन परियोजना सामीले मनोपरामर्श सेवा समेत दिइरहेको छ । जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारीका कारण महिलाहरु हिंसामा पर्ने गरेका छन् ।