जेठ–२३, पुस्तकालय स्थापनार्थ खोटाङमा एकल कबिता बाचन गरिएको छ । पुस्तक अध्यायन गर्ने बानीको बिकास गर्दै चेतना अभिबृद्धिका लागि पुस्तकालय स्थापनार्थ शनिबार दिक्तेलमा मदन पुरस्कार बिजेता साहित्यकार राजन मुकारुङको एकल कबिता बाचन कार्यक्रम राखिएको हो ।
पुस्तकालय स्थापनार्थ कबिता बाचन गर्दै साहित्यकार राजन मुकारुङ |
पुस्तकालय स्थापनाका लागि आवश्यक रकम जुटाउन जिल्लामै पहिलोपल्ट कबिता बाचन कार्यक्रम राखिएको हो । भूकम्पमा ज्यान गुमाएका मृतकको नाममा श्रद्धाञ्जली अर्पण गर्दै कबिता बाचन सुरु गरेका साहित्यकार राजन मुकारुङले एक दर्जन कबिता बाचन गरेर सुनाउनुभयो । ‘लोक फूल’ शिर्षकको कबिताबाट एकल बाचन सुरु गर्नुभएको मुकारुङले ‘थेप्चो नाक, राजीनामा, जंगलमा मेरो गीत, हुन नसकेको गीत, रातभर बाढी आउँदा, स्क्रीन टच पुस्ता, आठ मार्च र भानुभक्त, ह्वाइटहाउसमा सम्मानित हुँदा’ लगायतका कबिता बाचन गर्नुभयो । एकोहोरो दुई घण्टासम्म स्टेजमा उभिएर निरन्तर कबिता सुनाउनुभयो । गर्मी मौसममा गर्मीको अनुभव भइहेको समिक्षालय हललाई मुकारुङले कबितामार्फत थप तताउनुभयो । हरेक कबिता र कबितांशमा उहाँले दर्शक श्रोताको तालीको साथ पाउनुभयएको थियो । एकआपसमा सुन्ने र सुनाउने कार्यक्रम गर्दै आएका जिल्लाका श्रष्टा सर्जकहरुले एकोहोरो राजनको कबिता सुनीरहे ।
एकल कबिता बाचनको अन्तिममा मुकारुङले नेपाली साहित्यमा मौलिकपन भर्खरै मात्र लेखिन थालेको उल्लेख गर्नुभयो । ‘नेपाली साहित्यमा परम्परागत मान्यतालाई फेर्न अनिवार्य छ,’ मुकारुङले भन्नुभयो, ‘हामीसँग आफ्नै मूल्य र मान्यताहरु छन्, त्यसलाई अहिलेसम्म साहित्यमा लेख्न सकिएको छैन, भर्खरै मात्रा लेखिन थालेका छन् ।’ आग्रही र पुर्वाग्रही पठन संस्कृति नेपाली साहित्य लेखकका मूख्य समस्या भएको उहाँले जनाउनुभयो । कबिता बाचन कार्यक्रममै मुकारुङले अध्यायन केन्द्रकालागि ८२ थान पुस्तक हस्तान्तरण गर्नुभयो । कबिता बाचन अवधिभर साहित्यानुरागी दर्शक श्रोताले हल खचाखच भरिएको थियो ।
‘सिर्जनशिल र उद्यमशिलताकालागि अध्यायन, कला र साहित्य समाज परिवर्तनको माध्याम’ भन्ने नारासहित दिक्तेलको समिक्षालय हलमा एकल कबिता बाचन राखिएको हो । चाहेको पुस्तक अध्ययन गर्ने व्यवस्था मिलाएर व्याक्तीको बौद्धिक क्षमताको स्तर बढाउन र क्षमताको दायरालाई अझ फराकिलो बनाउनका लागि पुस्तकालय स्थापनाको अवधारणा अघि सारिएको अध्यायन केन्द्रका अध्यक्ष मेघराज राईले बताउनुभयो । दिक्तेलमा सञ्चालन गरिने पुस्तकालयमा सबै विद्या, विषय र क्षेत्रका पुस्तक पढ्ने व्यवस्था मिलाइने केन्द्रका अर्का प्रतिनिधि रबिन खम्बुले बताउनुभयो । ‘समाजमा व्याप्त बिकृति बिसंगती न्यूनीकरण गर्न चेतनाको आवश्यकता पर्छ,’ खम्बूले भन्नुृभयो, ‘त्यो चेतना पुस्तकबाट मात्र सम्भव भएकाले पुस्तकालय स्थापना गर्न प्रयास गरेका हौँ ।’ बेफुर्सदी बनेर समय खेर फाल्ने युवालाई समेत पुस्तकालयमा ‘इंगेज’ गराउन सकिने उहाँले बताउनुभयो । पुस्तकालयका लागि सभाषद् अशोक राईले संसदीय विकासकोषबाट एक लाख रुपैयाँ दिइसकेका छन् ।
पुस्तकालय स्थापनार्थ कबिता बाचन गर्दै साहित्यकार राजन मुकारुङ । तस्बिरः हाम्रो खोटाङ डटकम |