जेठ–२४, श्रीमतीको हत्या गरेको आरोपमा खोटाङमा एक युवा पक्राउ परेका छन् । कुटपिट गरि श्रीमतीको हत्या गरेको आरोपमा कुभिण्डे–३ का २७ वर्षीय मनकुमार श्रेष्ठ शनिबार पक्राउ परेका हुन् ।
जेठ–२० गते बिहान श्रेष्ठको श्रीमती शुष्मा भनिने २६ वर्षीया लीला राई (श्रेष्ठ) घर नजिकै केराघारीमा शंकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । उनको हत्या स्वयम् आफ्नै श्रीमानले गरेको भन्ने माइतीपक्षबाट किटानी जाहेरी आएपछि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले बताउनुभयो ।
पक्राउ परेका श्रेष्ठलाई आईतबार जिल्ला अदालत खोटाङ लगेर चार दिनको म्याद थप गरि कारबाही थालिएको प्रहरीले जनाएको छ । उनले श्रीमतीलाई १९ गते राती सामान्य कुटपिट गरेको स्वीकारेको प्रहरीको भनाइ छ ।
मृत फेला परेकी महिलाको ढाड र पाखुरामा निलडाम भेटिएको घटना स्थल पुगेका प्रहरीले जनाएको छ । उनको हत्या भएनभएको बारे अस्पतालबाट शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको गौतमको भनाइ छ । 
उनीहरुबीच चार वर्षअघि प्रेम विवाह भएको स्थानीयले जनाएका छन् । स्थानीयले दिएको जानकारी अनुसार उनीहरुको दुई भाइ छोरा छन् ।