जेठ–२६, जयरामघाटस्थित दुधकोसी नदीमा हालिएको अस्थायी बेलीब्रिज झिकिएपछि  खोटाङबाट राजधानी काठमाडौं लगायत विभिन्न जिल्लासँगको सिधा यातायात सेवा  बन्द भएको छ । नदीमा पानीको बहाव बढेसँगै खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने जयरामघाटमा हालिएको अस्थायी बेलीब्रीज झिकिएपछि यातायात सेवा बन्द भएको हो । 
बेलिब्रीज झिकिएपछि राजधानी काठमाडौं लगायतका जिल्ला आवत÷जावत साथै दैनिक उपभोग्यवस्तु ढुवानीमा समस्या भएको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । हिउँदभर सञ्चालन गर्ने र वर्षा लागेपछि झिक्नेगरी बिगत पाँच वर्षदेखि उक्त नदीमा अस्थायी बेलीब्रिज सञ्चालन गर्ने गरिएको छ । 
जिल्लामा भूकम्पपीडितका लागि राहत सामाग्री ल्याउनेक्रम बाँकी रहेकाले उक्त बेलीब्रिज केहि समय नझिक्न अनुरोध गरिएपनि पानीको बहाव बढेकाले रोक्न नसकिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक विभागले जेठ–१० गते नै झिक्ने निर्णय गरेको थियो, जिल्लाबासीको विशेष आग्रहमा अहिलेसम्म सञ्चालन गर्न पाइयो ।”
उक्त अस्थायी बेलिब्रीज झिकिएपछि जिल्लामा सञ्चालन हुने यातायातका सवारीसाधान यताको यतै र उताको उत्तै रोकिएको यातायात व्यवसायी संघ खोटाङका सचिव राम हिङ्माङले बताउनुभयो । उहाँले भन्नुभयो, “छ वर्षदेखि निर्माणाधिन पक्की पुल हालसम्म नबन्नुले यस्तो समस्या भएको हो, यसमा सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
ठेकेदार कम्पनीको लापरबाही कारण दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नुपर्ने दुधकोसी नदीको पक्की पुल छ वर्षमा पनि बन्न सकेको छैन । पुल निर्माणको ठेक्का लिएका हुलास इन्जिनियरिङ र कालिका कन्स्ट्रक्सनको आपसी कलहका कारण निर्माण कार्य अलपत्र भएको जनाइएको छ ।
२०६६ साल भदौबाट निर्माण कार्य थालिएको उक्त पक्की पुल अझै सकिएको छैन । उक्त पुलका लागि हालसम्म पिल्लर हाल्ने काम मात्र भएको छ ।