जेठ–२६, दिक्तेल नगरपालिकामा बिस्तार गरिएको खानेपानीमा ‘कोलीफर्म’ भेटिएको समाचार सार्वजनिक भएपछि पानीको मुहानमा ब्लिचिङ पाउडर हाल्ने तयारी गरिएको छ । झण्डै १२ सय घर नगरबासीले उपभोग गर्ने उक्त पानीमा दिसामा पाइने ‘कोलीफर्म’ नामक किटाणु भेटिएको समाचार सार्वजनिक भएपछि मंगलबार अपरान्हपछि बसेको आपतकालीन बैठकले यस्तो निर्णय गरेको हो । 
कोलीफर्म मानव स्वास्थ्यका लागि हानीकारक किटाणु भएकाले तत्काल नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । प्रजिअ सापकोटाले भन्नुभयो, “यसमा कुनै बिलम्ब गर्नु हुन्न, चाहिएको जनशक्ति म उपलब्ध गराउछु, रातारात गरेर भएपनि समाधानका पाटो खोज्नुस् ।”
बैठकमा खानेपानी उपभोक्ता समितिले ब्लिचिङ पाउडर हाल्ने, खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयले प्राविधिक सहयोग गर्ने, नगरपालिकाले पानी उमालेर मात्र पिउन वा सुद्धिकरणका उपायहरु अवलम्बन गर्न नगरबासीलाई माईकिङ तथा सञ्चार माध्यबाट आग्रह गर्ने लगायतका निर्णय गरेको छ । प्रजिअ सापकोटाको अध्यक्षमा बसेको बैठकले उक्त पानीका मुहानहरुलाई दीर्घकालीन संरक्षणका लागि खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालयले प्राविधिक स्टमेटको आधारमा विभाग समक्ष आवश्यक रकम उपलब्ध गराउन माग गर्ने निर्णय गरेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष धनप्रसाद गिरीले बताउनुभयो ।
नगरपालिकामा बिस्तार गरिएको खानेपानी फोहोर रहेको गुनासोपछि परीक्षण गर्दा दिसामा पाइने कोलीफर्म नामक किटाणु फेला परेको हो । पानी परीक्षण केन्द्र काठमाडौंले उपलब्ध गराएको जानकारी अनुसार माझखोला खानेपानी आयोजनाको रिर्जभ ट्याङकीमा ३० प्रतिशत र रम्बाखोला खानेपानी आयोजनाको ट्याङकीमा ४० प्रतिशत किटाणु फेला परेको छ ।
पानीमा देखिएको किटाणु नष्न पार्न ५० केजी ब्लिचिङ पाउडर विभागबाट प्राप्त भएकाले मंगलबार रातीसम्म भएपनि हालिने दिक्तेलबजार खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताउनुभयो । नगरपालिकामा बिस्तार गरिएको खानेपानीको मुहान खुला ठाउँमा रहेकाले यस्तो समस्या आएको अध्यक्ष जोशीको भनाइ छ । 
उक्त खानेपानीको पाइप ठाउँ–ठाउँमा फुटेको र ढलको फोहोर सोही पाइपमा मिसिएर आउने गरेको दिक्तेल नगरपालिका–२ का जयप्रसाद राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारे सम्बन्धित निकायलाई पटक–पटक जानकारी गरायौं, तर सुद्ध पानी पिउन पाइएको छैन ।”