बस्तीदेखि सात÷आठ सय मिटर तलबाट जमिन भासिन थालेपछि उक्त बस्तीका स्थानीयबासी त्रसित बनेको शारदा उच्च मावि खार्पाका शिक्षक वषन्तराज पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बैशाख–१२ गतेको भूकम्पपछि धाँजो फाटेको उक्त जमिन कुन बेला बग्ने हो टुङ्गो छैन, अहिले दुई मिटरभन्दा बढि फाटीसकेको छ ।”
नेवार बस्ती रहेको उक्त जमिन भासिन थालेपछि अध्ययनका लागि प्राविधिक टोली परिचान गरिएको जिल्ला दैविप्रकोप उद्दार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “यो संकटपूर्ण अवस्था हो, कहाँ कुन बेला के हुन्छ थाहा हुँदैन, त्यसैले सबैले सजकता अपनाउनुपर्ने अवस्था आएको छ ।”
जमिन भासिन थालेपछि स्थानीयबासीले अध्ययनका लागि टोली पठाउन जिल्ला प्रशासन कार्यलयलाई पत्र समेत पठाएको छ । उक्त पत्रको आधारमा भू–संरक्षण कार्यालयका प्रमुखको नेतृत्वमा प्राविधिक टोली परिचालन गरिएको प्रजिअ सापकोटाको भनाइ छ ।
जमिन भासिएपछि जुकेखोला गाउँ खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको एकीकृत नेकपा माओवादी खार्पाका सचिव राजन मगरले जानकारी दिनुभयो । मगरका अनुसार वडा नम्बर–८ र ९ का करिब ८० घरपरिवारले उपभोग गर्ने पानीको संरचनामा क्षति पुगेपछि खानेपानी आउन छाडेको छ ।
जमिन चिराचिरा परेर भासिन थालेपछि त्यस क्षेत्रमा गाडिएका तीनवटा विजुलीको पोल समेत भासिएको जनाइएको छ । विजुलीको पोल भासिएपछि विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
वर्षाद् सुरु नभइ जमिन भासिएपछि अर्खौले, खार्पा हुँदै ऐसेलुखर्कसम्मको कच्ची सडकमार्ग समेत अवरुद्ध बनेको स्थानीयले जनाएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयबासी पैदल यात्रा गर्न बाध्य भएका छन् ।