असार–७ । नेपाली कांग्रेस खोटाङले आफ्ना मृतक कार्यकर्ताको परिवारलाई रकम प्रदान गरेको छ । हृदयघातका कारण ज्यान गुमाएका जिल्ला सदस्य भक्तकर्ण राईको परिवारलाई एक लाख ३० हजार रुपैयाँ रकम प्रदान गरेको हो । 
गत २०६८ भदौ–४ गते ज्यान गुमाएका राईको स्मृतिमा जिल्ला कार्यसमितिले अक्षयकोष खडा गरेर कार्यकर्ता तथा शुभेच्छुकबाट संकलन गरेको रकम प्रदान गरिएको जिल्ला सचिव वीरकाजी राईले बताउनुभयो । राईले भन्नुभयो, “उहाँको असामयिक निधनपछि आइपरेको समस्या समाधान गर्न रकम संकलन गरेका थियौं, त्यसबाट खर्च गरेर बचेको बाँकी रकम परिवारलाई प्रदान गरिएको हो ।”
उक्त अक्षयकोषमा जम्मा भएको रकम सोमबार एक कार्यक्रमकाबीच मृतकका भाइ सन्देश राईलाई प्रदान गरिएको राईले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले आफ्नै पार्टी कार्यालयमा गरेको कार्यक्रममा जिल्ला सभापति विष्णुकुमार राई र पूर्व वनराज्यमन्त्री शिवकुमार बस्नेतको हातबाट मृतक राईको भाइलाई रकम प्रदान गरिएको हो । 
प्राप्त रकम जिल्लाका अपाङ्ग, अशाह्य र विपद्मा परेका व्यक्तिलाई प्रदान गरिने मृतकका भाइ सन्देशले बताउनुभयो । उहाँले भन्नुभयो, “दाजु त मरेर जानुभयो, तर उहाँको नाममा जम्मा भएको रकम उहाँकै सम्झनामा खर्च गरिनेछ ।”
सानै उमेरबाट राजनीतिमा लाग्नुभएका मृतक राई २०६७ साउन–२८ गतेबाट जिल्ला सदस्यमा जनजाति कोटाबाट निर्वाचित हुनुभएको थियो । युवा परिचालन विभागका संयोजकको जिम्मेवारी समेत सम्हाल्दै आउनुभएका राई रातन्छा–३ का हुनुहुन्थ्यो ।