खोटाङ, ९ असार  । खोटाङ र उदयपुरको सिमामापर्ने सुनकोसीस्थित बंशीलाघाटमा झोलुंगे पुल शिलान्यास गरिएको छ । जिल्लाको दक्षिणी गाबिस पौवासेरा र उदयपुरको चौदण्डी गाबिस जोड्ने झोलुंगे पुल मंगलबार सभाषद बिशाल भट्टराईले शिलान्यास गरेका हुन् । 
१ करोड ४३ लाखको लागतमा १५ महिनामा पूरा गर्नेगरी झोलुंगे पुल निर्माणको काम सुरु गरिएको हो । २३० मिटर लम्बाई भएको पुल निर्माणको जिम्मा जगदम्बा र शंकरमाली जेभीले लिएका छन् । पुल बनेपछि खोटाङका सावाखोला पारीका १३ गाबिस र उदयपुरलाई जोड्ने स्थानीयले बताएका छन् । पुल बन्ने आशामा स्थानीय उत्साहित बनेको बिद्यार्थी नेता मिलन राईले बताए । 
सुनकोसीको बंशीलाघाटमा डुंगा तर्दै स्थानीय । तस्बिर सौजन्य: बिशाल भट्टराई 
बंशीलाघाट तराई पुग्नआउनकालागि जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको मूख्या नाका हो । पुलको अभावमा स्थानीय बंशीलाघाटमा डुंगाबाट सुनकोसी वारपार गर्दैआएका छन् । सभाषद भट्टराई समेत डुंगा तरेर पुल शिलान्यास गर्न बंशीलाघाट पुगेका थिए । बंशीलाघाटबाट खोटाङ र उदयपुरतर्फ कच्ची सडक बनेपनि मोटरेबल पुल बन्न नसकेको स्थानीयको गुनासो छ । वर्षा लागेपछि र डुंगा चल्न छाडेपछि बंशीलाघाटबाट आवतजावत गर्ने स्थानीयको बाटो बन्द हुने गरेको छ ।