खोटाङ, असार ११ । खोटाङका जिल्ला शिक्षा अधिकारी गणेशप्रसाद भट्टराईले एसएलसीमा जिल्लाको कमजोर नतिजा आउनुमा शिक्षक मुख्य दोषी रहेको बताएका छन् । उनले एसएलसीमा आएको जिल्लाको कमजोर नतिजाले ‘शिर झुकाउनुपर्ने’ अवस्था आएको पनि बताएका छन् ।
रिपोटर्स क्लब नेपाल शाखा खोटाङले शुक्रबार दिक्तेलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा जिशिअ भट्टराईले एसएलसिमा जिल्लाले मुलुकमै अन्तिम नतिजा ल्याएका कारण शिर ठाडो पारेर हिँड्ने अवस्था नभएको बताए । एसएलसीको कमजोर नतिजापछि सबैले फोनमार्फत ‘व्यांग्यात्मक बधाई’ दिने गरेको उनले उल्लेख गरे ।
‘७५ जिल्लामा हाम्रो जिल्ला कमजोर देखिदा शिर निहुराएर हिँड्नुपर्ने अवस्था आएको छ,’ जिशिअ भट्टराईले भने, ‘सबैले फोनबाट बधाई छ भन्छन्, यसले हामीलाई एकदमै अप्ठ्यारोमा पारेको छ ।’ भट्टराईले एसएलसिमा जिल्लाले सबैभन्दा कमजोर नतिजा ल्याउनुमा शिक्षकको मुख्य दोष रहेको उल्लेख गरे ।
शिक्षक–विद्यार्थीबीचमा हुनुपर्ने अन्तरक्रीयाको अभावमा शैक्षिक गुणस्तर बृद्धि हुन नसकेको उनले बताए । ‘शिक्षकहरुले शिक्षणलाई सेवाको भावले हेरेनन् पेशाकारुपमा मात्र हेरे,’ भट्टराईले भने, ‘शिक्षकले कक्षामा विद्यार्थी सामु आफुलाई सहयोगीकारुपमा प्रस्तुत गर्न सकेनन् ।’ विषयगत शिक्षकको अभाव, तालिमप्राप्त शिक्षकले कक्षामा सिपको प्रयोग नगर्नु, समयमा पाठ्यपुस्तक नपुग्नु लगायतका कारण एसएलसिमा जिल्लाले मुलुकमै अन्तिम नतिजा ल्याएको उनको भनाई छ ।
एसएलसिको नतिजा अनुशार १६ प्रतिशत परिक्षार्थी उत्तिर्ण गराएको खोटाङका १४ विद्यालय निल भएका छन् । गत वर्षभन्दा चार प्रतिशतले उत्तिर्ण प्रतिशत बृद्धि भएपनि यो मुलुककै सबैभन्दा अन्तिम नतिजा हो ।
‘राजनितीकरणले बिगा¥यो एसएलसि’
साक्षात्कारमा सहभागी शिक्षा सम्वद्ध व्यक्तीहरुले शिक्षामा भएको राजनितीकरणका कारण जिल्लाले एसएलसिमा मुलुकमै सबैभन्दा कमजोर नतिजा ल्याएको बताएका छन् । नामकालागि नेताहरुले व्यवस्थापन समितिको पद ओगट्नु, काम नगर्ने शिक्षकलाई राजनैतिक संरक्षण गरिनु, क्षमतावानलाई भन्दा आफुनिकटका शिक्षकलाई स्थान दिइनु, कारबाही गर्न लागेको शिक्षालाई उल्टै दवाब दिनु लगायतका कारण एसएलसिको नतिजा सबैभन्दा कमजोर आएको शिक्षा सम्वद्ध व्यक्तीहरुको भनाई छ । शिक्षा क्षेत्रमा राजनिती गर्दै शैक्षिकस्तर खस्काउने दलहरुले एसएलसिको परिणामका सन्दर्भमा माफी माग्नुपर्ने विद्यार्थी नेता भूपेन्द्र राईले बताए । ‘एसएलसिको कमजोर नतिजाले हामीलाई लज्जा बोध भएको छ,’ राईले भने, ‘हामी दलका कारणले नतिजा शुन्य आएको हो भने माफ माग्नुपर्छ ।’ उनले नाम र प्रभावकालागि अध्यक्ष ताक्ने नेतालाई तत्काल हटाउनुपर्ने बताए । अधिकारकालागि पेशागत संगठनमा आवद्ध भएका शिक्षकहरुले पार्टीको झण्डा बोक्ने बाटो खुल्ला भएको सम्झने गरेकाले समस्या आएको राईले बताए । नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष मेघनाथ घिमिरेले राजनीतिभन्दा राजनैतिक संरक्षणले शैक्षिकस्तर बिग्रिएको उल्लेख गरे । सामुदायीक बिद्यालय व्यवस्थापन समितिका जिल्ला अध्यक्ष प्रतिमान राईले शिक्षामा निकृष्ट राजनिती गर्नु अनुचित भएको बताए ।
‘यसरी नतिजामा सुधार ल्याउन सकिन्छ’
एसएलसिको कमजोर नतिजा सुधारका लागि विद्यार्थीलाई परिक्षाअघि ‘क्लोज क्याम्प’मा अनिवार्य राख्ने व्यवस्था मिलाउनुपर्ने शिक्षा सम्वद्ध व्यक्तीको सुझाव छ । उनीहरुले काम नगरी एकोहोरो पदमात्र ओगट्ने नेताहरुलाई व्यवस्थापन समितिबाट हटाउनुपर्नेमा जोड दिएका छन् । प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले आउँदो वर्ष एसएलसिको नतिजा सुधारकालागि ‘क्लोज क्याम्प’ राख्न जरुरी रहेको बताए ।
यस्तै, पुर्वप्राचार्य पवन थापाले ‘क्लोज क्याम्प’ एसएलसिको परिक्षाभन्दा दुई महिनाअघि व्यवस्था गर्नुपर्ने सुझाव दिए । थापाले काम नगर्ने र पदमात्र ओगट्ने नेताहरुलाई व्यवस्थापन समिति छाड्न आग्रह गरे । ‘पद चाहिने तर विद्यालयको चिन्ता नगर्ने मान्छेलाई किन राखिरहने ?,’ थापाले भने, ‘त्यस्तालाई व्यवस्थापन समितिबाट हटाउनुपर्छ ।’ अभिभाबक ईमान राईले शैक्षिक नतिजामा सुधार ल्याउन शिक्षक, अभिभाबक र बिद्यार्थीबीचमा निरन्तर अन्तरक्रीयाको आवयकता औंल्याए । नतिजा सुधारकालागि तिनैपक्ष गम्भीर बन्नुपर्ने उनको सुझाव छ । जनसेवा समाज नेपाल जालपाका अध्यक्ष दानबहादुर राईले प्रयास गरे आगामी वर्ष एसएलसिको नतिजामा सुधार ल्याउन सकिने उल्लेख गरे ।