खोटाङ, असार १२ । महिला तथा बालबालिका कार्यालय खोटाङले आफन्तबाट निर्घात कुटिएकी महिलालाई उपचार खर्च प्रदान गरेको छ ।
नाताले नन्दज्वाँई पर्ने सप्तेश्वर–९ का सुरेन्द्रराईको निर्घात कुटपिटबाट घाईते भएपछि जिल्ला अस्पताल दिक्तेलमा उपचार गराइरहेकी पाथेका–४ नाखामकी ३० वर्षीय दिल्पा राईलाई कार्यालयले पाँच हजार उपचार खर्च दिएको हो । राईलाई अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको पहलमा उपचार खर्च जुटाइएको हो । कुटपिटबाट शरीरमा लागेको चोटको उपचार गर्न सक्ने आर्थिक क्षमता नभएका कारण दिल्पालाई उपचार खर्च प्रदान गरिएको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । दिल्पामाथि गत असार–८ गते कुटपिट भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट मरणासन्न अवस्थामा उपचार गराईरहेकी महिलालाई इन्सेक प्रतिनिधि डिएम चाम्लिङले पनि अस्पतालमै पुगेर एक हजार सहयोग गरेका छन् । निम्न आर्थिकस्तर भएका कारण उनलाई अस्पतालको तर्फबाट उपचार खर्चमा केही रकम छुट गरिएको अस्पतालका प्रमुख डाक्टर माधव लम्सालले बताए । प्रहरीका अनुशार काखमा एक वर्षको बच्चा भएकी महिलामाथि कुटपिट गर्ने आरोपित हाल फरार छन् । फरार राईविरुद्ध परेको उजुरीउपर कारवाही प्रक्रिया अघि बढाएर खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दिक्तेलका मुद्दा शाखाका सई यादव गौतमले बताए ।
इन्सेक प्रतिनिधि चाम्लिङले नाजुक अवस्थाकी महिलालाई उपचार खर्च उपलब्ध गराउन र उपचार खर्च छुट गराउन पहल गरेका थिए ।