असार–१४ । जिल्लाको दक्षिणी गाविस लिकुवापोखरी–७ स्थित वीणा माविलाई बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
खोटाङको बुईपा–१ कट्टी घर भइ हाल बेलायत बस्दै आउनुभएका हिमालशेर राईले विद्यालयको भवन निर्माणका लागि रु. दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्नुभएको हो ।
भवन अभावका कारण पठनपाठनमा समस्या भएको देखेपछि राईले उक्त रकम उपलब्ध गराउनुभएको प्रधानाध्यापक महेश दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार राईले बेलायतबाटै विद्यालयको खातामा रकम जम्मा गरिदिनुभएको हो ।
कक्षा–१० सम्म पढाइ हुने सो विद्यालयमा ४५० विद्यार्थी अध्ययनरत छन् । २०१८ सालमा स्थापना भएको उक्त विद्यालय स्थानीयले चन्दा संकलनबाट सञ्चालन गर्दै आएका छन् ।