खोटाङ १४ असार । अनेरास्वबियु खोटाङले एसएलसिमा जिल्लाले मुलुकमै सबैभन्दा कम नतिजा ल्याएकोमा ध्यानाकर्षण भएको जनाएको छ । आईतबार जिल्ला शिक्षा कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्वबियुले एसएलसिमा जिल्लाले पाएको परिणामले बिद्यार्थी संगठनलाई चिन्तित, लज्जित र आक्रोशित बनाएको जनाएको छ । 
उसले एसएलसिमा अत्यास लाग्दो परिणाम आउनुका पछाडि पेशाबाट गैर–जिम्मेवार बन्ने शिक्षक, तलव खाएर राजनिति गर्ने शिक्षक, कामका आधारमा शिक्षकलाई दण्ड वा सजाय गर्न नसक्ने जिल्ला शिक्षा कार्यालयका कारण एसएलसिमा जिल्लाले सबैभन्दा कम अंक पाएको बताएको छ । कतिपय शिक्षकले शिक्षणलाईभन्दा राजनितीलाई प्राथमिकता दिने, गाउँमा सञ्चालन हुने आयोजनाको उपभोक्ता समितिमा बसेर योजना सम्झौता र फरफारक गर्ने काममा बढि समय बिताउने, शिक्षा ऐन र आचार संहिता विपरित मद्यपान गर्दै विद्यालय नआउने, नपढाउने गरेको अनेरास्वबियुको आरोप छ । 
‘सरकारको तलव खाएर गैर–जिम्मेवार बन्ने यस्ता शिक्षकलाई पहिचान गरी कारबाही गर्न शिक्षा कार्यालय किन चुक्छ,’ अनेरास्वबियुका जिल्ला अध्यक्ष शम्भु घिमिरेले भने, ‘शिक्षा क्षेत्रमा बिकृति भित्र्याएर विद्यार्थीको भबिष्यमाथि खेलबाड गर्ने शिक्षकलाई कारबाही गर्नुपर्छ की पर्दैन ?’
संगठनले जिल्लाका राजनैतिक दलका नेता बनेका प्रधानाध्यपक तथा शिक्षकलाई कारबाही गर्नबाट शिक्षा डराउने गरेको बताएको छ । शिक्षाले कारबाही गर्ने परिपार्टीको बिकास नगरेका कारण कतिपय शिक्षकहरु खुलेआम ‘नेता शिक्षक’ बन्ने गरेको अनेरास्वबियुले बताएको छ । ‘कांग्रेसका जिल्ला सचिव रहेका सरस्वती उच्च माबि सछितापोखरीका प्रधानाध्यपक केशबराज कार्कीलाई शिक्षाले स्पष्टीकरण लिन सक्छ ?,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यस्तै–यस्तै कमजोरीका कारणले शिक्षामा बिकृति मौलाएको हो ।’
निल खाएका बिद्यालयलाई पनि पत्र
अनेरास्वबियु खोटाङले यसपल्ट एसएलसिमा भएको कमजोरी पत्ता लगाउँदै आउँदो वर्ष नतिजामा सुधार ल्याउन निल खाएका १४ विद्यालयको ध्यानाकर्षण गराएको छ । 
एसएलसिमा शुन्य नतिजा आउनुको कारण र समस्या पत्ता लगाउँदै समाधान गरी विद्यार्थीको भविष्य अन्धकार हुनबाट बचाउन संगठनले निल खाएका बिद्यालयलाई शिक्षा कार्यालयमार्फत ज्ञापनपत्र पठाएको छ ।