
खोटाङ १५ असार । सशस्त्र प्रहरी बल हलेसी गुल्म खोटाङ परिसरमा वृक्षारोपण गरिएको छ । रुद्राक्ष, सिनकौली, सुनतला, आँप, नास्पाती, पैयूँ, बडहर लगायत विभिन्न प्रजातिका ९०० विरुवा रोपिएको हो ।
भू–संरक्षण, पशुसेवा, जिल्ला वन र स्थानीयले उपलब्ध गराएको फलफूल तथा जडीबुटीको विरुवा रोपिएको गुल्मका सशस्त्र प्रहरी निरीक्षक फूर्गेली शेर्पाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “भर्खरै निर्माण भएको गुल्म परिसरलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण गरिएको हो, यसमा सबैको साथ रह्यो ।”
भू–संरक्षणले ५००, पशुसेवाले २००, जिल्ला वनले १२५ र स्थानीयले ७५ वटा विरुवा निःशुल्क उपलब्ध गराएको शेर्पाले जानकारी दिनुभयो । उहाँका अनुसार पशुसेवा कार्यालयले उपलब्ध गराउको दुई प्याकेट क्लोभर र दुई प्याकेट राई घाँसको बीउ छरिएको छ ।
वृक्षारोपन कार्यक्रममा राजनीतिक दल, जिल्लास्थित कार्यालय प्रमुख तथा प्रतिनिधि, स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।