खोटाङ १५ असार । सामूहिक रुपमा धान रोपेर खोटाङमा धान दिवस मनाइएको छ । ‘खेतीमा यान्त्रिकरण, उत्पादन लागतमा न्यूनिकरण’ भन्ने नाराका साथ सामूहिक रुपमा  धान रापेर जिल्लामा बाह्रौँ धान दिवस मनाइएको हो ।
जिल्ला कृषि विकास कार्यालयको आयोजना तथा प्रगतिशील महिला कृषक समूह लफ्याङ र विश्वहिन्दु महासंघ जिल्ला शाखा खोटाङको सहआयोजनामा दिक्तेल नगरपालिका–१३ स्थित लफ्याङको काफ्लेडाँडा खेतमा सामूहिक रुपमा धान रोपिएको वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय जिल्लामा कृषिप्रति बितृष्णा पैदा हुँदै गएको छ, त्यसैले कृषकहरुलाई उत्साह र हौसला प्रदान गर्न सामूहिक रुपमा धान रोपेर दिवस मनाएका हौँ ।”
दिवसमा जिल्लास्थित राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, विभिन्न कृषक समूह, गैंरसरकारी संस्था, पत्रकार लगायतको सहभागिता रहेको थियो । सदरमुकाम दिक्तेलबाट झण्डै एक घण्टा टाढा आयोजना गरिएको कार्यक्रममा धान रोप्ने, हिलो छ्याप्ने, असारे गीत गाउने, दही÷चिउरा खाने लगायतका क्रियाकलाप भएको थियो ।  
कार्यक्रममा झण्डै दुई सय बढिको सहभागिता रहेको रिजालको भनाइ छ । संस्कृतिको संरक्षण गर्दै कृषि प्रवद्र्धनका लागि असार पन्ध्रको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।