खोटाङ १६ असार । खोटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । कालोपत्रेको काम सम्पन्न भएपछि तारा एयरको विमानले परीक्षण उडान भरेको छ ।
काठमाडौबाट खोटाङको खानीडाँडास्थित मनमाया राई विमानस्थल र भोजपुरको विमानस्थलमा एउटै जहाजले मंगलबार परीक्षण उडान भरेको हो । खानीडाँडा विमानस्थलको कालोपत्रेको काम सम्पन्न भएको छ । तर विमानस्थलको एप्रोन, ढल, टेवापर्खाल, ट्रनिङप्याड र कटिङफिलिङको काम सम्पन्न हुन बाँकी छ। 
खानीडाँडाँ विमानस्थल बुइल्डर्स र च्याङ्मिला संयुक्त निर्माण कम्पनीले सात करोड २४ हजार तीन सय ८० रुपैयाँमा स्तरोन्नतीको जिम्मा लिएका थिए । विमानस्थल गत जेठ १५ भित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिए पनि समयमा दुबै कम्पनीले काम सकेनन् ।
जिल्लाका तीन विमानस्थलमध्ये सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल कालोपत्रे सम्पन्नसँगै परीक्षण उडान सम्पन्न  भएपछि जिल्लाबासी हर्षित भएका छन् । वर्षा लागेसँगै तराईसँगको सिधा यातायात सेवा विच्छेद भएको अवस्थामा सबैभन्दा नजिक रहेको खानीडाँडा विमानस्थलमा हवाई सेवा नियमित गराउनेपर्ने जिल्लाबासीको माग रहेको छ । 
खोटाङबासीको आफ्नै पहलमा निर्माण गरिएको खानीडाँडा विमानस्थलमा नेपाल एयरलाईन्स, अग्नी र तारा एयरलाईन्सले उडान भर्दै आएको थियो ।