
खोटाङ, १८ असार । किशोरी बलात्कार गरेको आरोपमा खोटाङमा ट्याक्टर चालक पक्राउ परेका छन् । खोटाङकी १४ वर्षीया एक किशोरीलाई बलात्कार गरेको आरोपमा इटहरी नगरपालिका–२ का २९ वर्षीय बाबुराम भन्ने हर्कबहादुर मगर पक्राउ परेका हुन् ।
गत जेठ–३० गते राती बलात्कार गरेको भन्दै पीडितले दिएको उजुरीका आधारमा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव निरीक्षक यादव गौतमले जानकारी दिनुभयो । आरोपित मगरले ६ महिनादेखि खोटाङ जिल्लामा ना ४ त ७७५३ नम्बरको ट्याक्टर चलाउँदै आएका थिए ।
पीडित किशोरीले असार–१४ गते दिएको उजुरीको आधारमा उनलाई असार–१५ गते टेम्माबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मगर विरुद्ध जबरजस्ती करणी महल अन्तरगत कारवाही प्रक्रिया अघि बढाइएको गौतमले बताउनुभयो ।
पीडित किशोरीलाई मगरकै जिम्मा लगाउने तयारी गरिएको तर उनको जेठी श्रीमती भएको खुलेपछि घटना सार्वजनिक भएको स्थानीयले बताएका छन् । बालिकाको असार–१४ गते जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको थियो ।