खोटाङ, २४ असार । खोटाङको बुईपा–९ का दिलीप राई साथमा कहिल्यै गियरवाला साईकल छुटाउँदैनन् । सकेसम्म आफ्नो यात्रा साईकलबाटै तय गर्छन् त्यो पनि उल्टो चलाएर । २६ वर्षीया दिलीप साईकलमाथि उल्टो फर्केर बस्छन् र कुदाउछन् ।
दिक्तेलमा उल्टो साईकल चलाउँदै दिलीप राई । 
साइकलबाट नओर्लीकनै उनी उल्टो बस्छन्, सुल्टो पनि घुम्छन् । उल्टो साईकल चलाएर नाम चम्काउने सपना पूरा गर्न लागेका राई गाउँका कच्ची सडकको उकालो र ओरालो गर्न अभ्यास्त बनीसकेका छन् । बिगत चार वर्षदेखि उल्टो साईकल चलाउँदैआएका राईले अहिले पनि दैनिक अभ्यास गरिरहन्छन् । बुईपा–पञ्चरदोबाटो ग्रामिण सडकमा उल्टो बसेर साईकल कुदाइरहेको भेटिन्छन् उनलाई । उल्टो साईकल चलाउँदै ‘खोटाङको नाम’ राख्नकालागि संघर्षरत रहेको उनले बताए । देश बिदेशसम्म उल्टो साईकल चलाएर भ्रमण गर्दै गिनिजबुकमा नाम लेखाउने उनको धोको छ । ‘पहिलो त आफ्नो जिल्लाको नाम राखौं भन्ने लक्ष्य छ,’ दिलीपले भने, ‘सकियो भने गिनिजबुकमा समेत नाम लेखाउँला भन्ने सपना छ ।’ 
बाबु कृष्णकुमार र आमा कमला राईको पाँच भाई छोरामध्ये माईलो छोरा हुन् दिलीप । उल्टो साईकल चलाउन सकिन्छ भन्ने सुनेका उनले पनि आफै उल्टो साईकल चलाउने अभ्यास गर्दै गए । कति लडे, कति ठाउँ पछारिए । उत्तिकै चोटपटक लाग्यो, तर हार खाएनन् उनले । निरन्तर अभ्यास गर्दै र सिक्दैजाँदा उल्टो साईकल चलाउन दक्ष बनेको दिलीप बताउँछन् । ‘साईकललाई उल्टो चलाउन सकिन्छ भनेको समाचार सुनेको थिए,’ उनले भने, ‘अभ्यास गर्दैजाँदा साईकल उल्टो चलाउन जानेको हुँ ।’ उनले उल्टो साईकल चलाउने अभ्यासलाई गाउँबाहेक उदयपुरको गाईघाट र भारत पुगेकोबेला समेत निरन्तरता दिए । सडक बिस्तार भइसकेका सबै जिल्लामा उल्टो साइकल चलाएरै पुग्ने ध्याउन्नमा छन् राई । 
१३ वर्षको उमेरदेखि नै सुल्टो साईकल चलाउन थालेका दिलीपले उल्टो चलाउन भने चार वर्षअघिदेखि मात्र थालेका हुन् । उल्टो साईकल चलाउने धोको पूरा गर्ने ध्याउन्नले उनको अध्यायन निमाबि तहभन्दा माथि उक्लिन सकेन । उल्टो साईकल चलाउनेक्रममा उनी प्रहरीको नियन्त्रणमा समेत पुग्नुपरेको बताउँछन् । सुरु–सुरुमा उल्टो साईकल चलाउँदा उनलाई खिसी गर्नेहरु कम थिएनन्, तर उनको जाँगर र कला देखेर हौस्याउने आफन्तका कारण उनलाई बिस्तारै सफलतातिर डो¥याउँदै छ । जिल्ला बसेर केही ‘सिर्जनसिल काम’ गर्ने व्यक्तीहरुको सँधै अभाव खड्किरहन्छन् । तर चाह्यौँ भने यही ठाउँमा पनि नयाँ काम गर्न सकिन्छ भन्ने देखाउन उल्टो साईकल चलाउन थालेको दिलीपले बताए । जिल्लामा हुने कतिपय कार्यक्रममा उनी उल्टो साईकल चलाएर आफ्नो सीप प्रदर्शन गर्छन । उनको उल्टो साईकल चलाउने कला देखेर समिता हेर्नेको ताँती नै लाग्ने गरेको छ ।