
खोटाङ, असार । भूकम्पका कारण भासिन थालेको खोटाङको खार्पास्थित सिमखर्कमा ‘खेती नगर्न’ विज्ञले सुझाव दिएका छन् । भूकम्पका कारण क्रमश : भासिन थालेको खार्पा–२ सिमखर्क क्षेत्र र सो ठाउँबाट सय मिटर वरपरसम्म खेती नगर्न विज्ञको सुझाव आएको हो ।
जमिन फाटेका कारण मानवबस्ती नै जोखिममा परेपछि जिल्ला दैवीप्रकोप उद्धार समितिको आग्रहमा स्थलगत अध्ययनकालागि खार्पा पुगेको जिल्ला भू–संरक्षण कार्यालयका प्रमुख हरिप्रसाद पाण्डे नेतृत्वको प्राबिधिकको टोलीले सम्भावित खतराबाट जोगिन तत्कालका लागि भासिएको क्षेत्रमा खेती लगाउन नहुने सुझावसहितको प्रतिवेदन बुझाएको छ ।
सिमखर्कमा झण्डै पाँच सय रोपनी खेत उल्टो ‘यू’ आकारमा चिरा परेर फाटेको र अझैपनि दैनिक एक फुटको दरले जमिन फाट्दै गएका कारण खेती गर्न नहुने अध्ययन टोलीको निष्कर्ष छ । लामीडाँडा–दुबेकोल सडक खण्डमा पर्ने सिमखर्कमा स्थानीयले धान खेती गर्दैआएका छन् ।
धान खेतीका क्रममा गरिने खनजोत तथा प्रयोग गरिने पानीले जमिन झन भासिने भएकाले सो स्थानमा कम्तीमा एक वर्ष खेती गर्न नहुने अवस्था देखिएको भू–संरक्षण कार्यालयका प्रमुख पाण्डेले बताउनुभयो । भूकम्पका कारण धाँजा फाटेको जमिन महिना दिनपछि क्रमश : भासिना थालेको स्थानीयको भनाई छ ।