प्रक्रिया मिलाउनका लागि नाम मात्रको सुझाव सङ्कलनले बन्ने संविधानप्रति जनताको अपनत्व नहुने र संविधान लागू गर्न समस्या हुनेमा दल तथा पत्रकारहरूले जोड दिएका छन् । जिल्ला प्रशासन कार्यालय खोटाङमा आइतबार आयोजिक कार्यक्रममा सुझाव संकलन गर्न आएका टोलीले पत्रकार तथा राजनीतिक दलहरुसमक्ष समय अभावको कारण देखाउदै जिल्लाका तीन ठाउ“मा मात्र सुझाव लिने जनाएपछि विरोध भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष ललितकुमार राईले नाम मात्रको सुझाव संकलनले जनतामा अन्यौल सिर्जना हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रक्रिया मिलाएर पैसा पचाउने मेलो गर्न पाइदैन, यदि त्यसो गरेर बनाइएको संविधान जनताले बहिस्कार गर्ने निश्चित छ ।”
नेपाल कम्युनिष्ट पार्टीका जिल्ला अध्यक्ष श्यामराज राईले सात वर्षसम्म संविधान बनाउने भनेर अलमलिने र अन्त्यमा आएर समय अभाव देखाएर सुझाव नै नलिने नियत जनता विरोधी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी जस्तो जिल्ला तहका नेताका हातमा त भरखर मस्यौदा आइपुगेको छ, जनताको हातमा कहिले पुग्छ ? र उनीहरुले सुझाव दिन्छन् । यो तरिकाले पनि जनताको संविधान बन्छ ?”
संविधान सुझाव उपसमितिका सचिव सहजीत राईले समय अभाव देखाउदैसदरमुकाम दिक्तेल, खोटाङबजार र अर्खौलेमा मात्र सुझाव संकलनका लागि कार्यक्रम राखिएको जानकारी दिएपछि त्यसको विरोध भएको हो । सभासद्हरु सुझाव लिन हेलिकोप्टरमार्फत जिल्ला आउने जनाइएपछि सहभागीहरुले थप आक्रोश पोखेका छन् ।
प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले घुमाउरो भाषामा गाउ“ तहसम्म जानु पर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “अघिल्लो संविधानसभाको समयमा सुझाव लिन गाउ“ जाँदा एक बृद्धले बृद्धभत्ताको बारेमा चासो राखेका थिए, अनि हामीले बृद्ध भत्ता बढाउनु पर्छ भन्ने कुरा बुझ्यौ ।” सापकोटाले थप्नुभयो, “यो एउटा प्रक्रिया हो । यसलाई जसरी पनि पूरा गर्नु पर्छ ।”