
साउन–१, खोटाङको दिक्तेल नगरपालिकामा पहिलो पटक सडकबत्ती जडान गरिएको छ । नगरभित्र हुनसक्ने सम्भावित दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले नगरपालिकाको बजार क्षेत्रमा सडकबत्ती जडान गरिएको हो ।
दुर्घटना हुन सक्ने सम्भावित ३१ ठाउँमा पहिलो चरणमा सडकबत्ती जडान गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिलो चरणमा ३१ ठाउँ सकबत्ती जडान गरिएको छ, यसले प्रयाप्त भएको छैन । त्यसैले स्थानीयबासी र नगरपालिकाको सहकार्यमा बाँकी सबै ठाउँमा जडान गर्ने तयारी गरेका छौं ।”
सडकबत्ती जडान गरिएपछि अस्पतालसम्म बिरामी लैजान तथा ल्याउन सहज भएको नगरबासीले बताएका छन् । सडकबत्ती जडानले नगरभित्र फोहोर फाल्न नियन्त्रण हुनुका साथै प्रहरी गस्तीमा समेत सहज भएको नगर विकास समितिका अध्यक्ष भोजकुमार बस्नेतले बताउनुभयो ।
नगरपालिको पाँच लाख रुपैयाँ लागतमा जडान गरिएको सडकबत्ती रातको समयमा आफै बल्ने र दिउँसो आफै बन्द हुने गर्दछ । सोलार प्यानेलको माध्यमबाट बल्ने सडकबत्ती बिहीबार साँझ मात्र जडान कार्य सम्पन्न भएको ढकालले जानकारी दिनुभयो ।
बाँकी ठाउँमा नगरपालिकाको ६० र स्थानीय समूदायको ४० प्रतिशत लागतमा जडान गरिने नगरपालिकाले जनाएको छ । यसका लागि नगरबासी तयारी अवस्तामा रहेको ढकालले बताउनुभयो ।