साउन ५,  संविधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिन खोटाङको बड्कादियाले–१ का नरेश राई दुई घण्टा हिँडेर खोटाङबजार पुगे । गाउँमा अर्गानिक तरकारी खेती गर्दैआएका राईले सुझाव संकलन कार्यक्रममा ‘अर्गानिक खेतीलाई प्राथमिकता र बजार व्यवस्थापन’का कुरा संबिधानमै उल्लेख हुनुपर्ने राय राखे । दुम्छा खोलामा पाकेको धान काट्नु थियो । खेती गर्न बेँसीमा गोरु झारिएको थियो । तर, मस्यौदामा सुझाव दिनकालागि भनेरै उनी ती सबै खेती किसानीका काम थाती राखेर खोटाङबजार आइपुगेका थिए । कृषि प्रधान देशमा किसानको हितमा संबिधान निर्माण हुनुपर्ने उनको सुझाव छ । ‘हाम्रा लागि संबिधान बन्ने हो भने हाम्रा कुरा लेखिनुपर्छ,’ नरेशले भने, ‘तर हाम्रो कुरा संबिधानमा लेखिन्छ भन्नेमा ढुक्क छैनौँ, कुन कोन्द्रामा खादिने हुन् कि ।’ 
संबिधानमा आफ्नो मत नछुटुन् भनेरै प्रदीप आचार्य डेढ घण्टा हिँडेर खोटाङबजार पुगे । घरमा गोलबेँडा गोड्ने

काम छाडेर संबिधानको प्रारम्भिक मस्यौदामाथि सुझाव दिन आएका आचार्यले बिदेशीले युवालाई स्वदेशमै रोजगारीको अवशर मिलाउने व्यवस्थाकालागि सुझाव दिए । खाडी मुलुक जानकालागि शुल्क घटाएर सरकारले युवालाई झन बिदेसिन उक्साउनुको सट्टा उनीहरुलाई आफ्नै गाउँमा केही गर्ने अवशर दिनुपर्ने उनको राय छ । ‘लाखौंका लाखौं जनशक्ती बिदेसिएपछि देशको प्रगती कसरी हुन्छ ?,’ तीन वर्ष मलेसिया बसेर फर्किएका आचार्यले भने, ‘देशलाई उभो लगाउने हो भने युवालाई स्वदेशमै श्रम गर्ने व्यवस्था संबिधानले मिलाउनु पर्छ ।’ गाउँमा व्यवसाय र खेतीपाती गर्दैआएका आचार्यले जातीय अधारमा प्रदेश बनाउन नहुने सुझाव दिए ।

मस्यौदामाथि सुझाव दिनकैलागि डाँडागाउँ–७ का जयप्रकाश राई पनि चार घण्टा हिँडेर कार्यक्रमस्थल पुगे, सभाषद समक्ष आफ्नो सुझाव पेश गरे । संबिधानको मस्यौदामाथि सुझाव संकलन गर्न खोटाङबजारमा शनिबार आयोजना गरिएको कार्यक्रममा उनीहरुजस्ता ७० भन्दा बढिले लिखित सुझाव दिए । सुझाव संकलनकालागि उपस्थित सभाषद बिशाल भट्टराईलाई उत्तिकै सहभागीले आ–आफ्नो ठाउँबाट उठेर मौखिक सुझाव दिए, नोट गराए । खोटाङ क्षेत्र नम्बर–२ का ३७ गाबिसका नागरिककालागि आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा दुई सय हाराहारीको उपस्थिति रह्यो । वर्षा याम भएकाले तोकिएका सबै गाबिसका जनताको अपेक्षित र बाक्लो प्रतिनिधित्व भने रहन सकेन । यद्यपी, घरका काम मायाँ मारेर कार्यक्रमस्थल आइपुगेका सहभागीहरुले जननिर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, निर्वाचित सांसद मात्र मन्त्री बन्न पाउने व्यवस्था, बलात्कारी र भ्रष्टाचारीलाई मृत्युदण्डको व्यवस्था, शिक्षाका लागि पनि संबैधानिक आयोगको व्यवस्था, निशुल्क स्वास्थ्य सेवा, धर्म निरपेक्षताको व्यवस्था लगायतका सुझावहरु दिएका छन् । 
‘राष्ट्रिय जनाबर एक सिंगे गैंडा बनाउनु पर्छ’ 
संबिधानको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन गर्न खोटाङको अर्खौलेमा आयोजना गरिएको सुझाव संकलन कार्यक्रममा शिक्षक खगेन्द्र राईले राष्ट्रिय जनाबर फेर्न सुझाव दिए । बुईपाबाट मस्यौदामाथि सुझाव दिन वर्षाले हिलाम्मे बनेको कच्ची सडकमा चिप्लिँदै अर्खौले पुगेका शिक्षक राईले एक सिंगे गैंडा नेपालबाटै लोपोन्मुख बनेकाले त्यसैलाई राष्ट्रिय जनाबर बनाउन राय दिएका हुन् । गाई हिन्दु धर्मावलम्बीसँग मात्र सम्बन्धित भएको र राप्रपा नेपालको चुनाव चिन्ह समेत रहेकाले गाईको सट्टा एक सिंगे गैंडालाई राष्ट्रिय जनावरकारुपमा संबिधानमा उल्लेख गर्नुपर्ने राईको सुझाव छ । 
‘गाईलाई एक समुदायले पुज्ने र केही जनजाती समुदायले नपुज्ने भएकाले राष्ट्रिय जनाबरलाई बिवादित बनाउन हुँदैन,’ शिक्षक राईले भने, ‘बरु लोपोन्मुख बन्दै गएको एक सिंगे गैंडालाई राष्ट्रिय जनाबर बनाइयो भने सान्दर्भिक हुन्छ र बिवाद रहित हुन्छ ।’ कतिपय सहभागीले उनको सुझावमा समर्थन जनाए । आफ्नो सुझावको सूचीमा उनले शिक्षक सेवा आयोगलाई संबैधानिक आयोग बनाउनुपर्ने पनि थपे । मंगलटारबाट कार्यक्रमस्थल पुगेका कांग्रेस नेता इवन राईले पनि शिक्षक राईको भनाईमा समर्थन जनाए । ‘राष्ट्रिय जनाबरलाई बिवाद रहित बनाउनुपर्छ,’ कांग्रेसका संगठन बिभाग प्रमुख रहेका राईले भने, ‘संबिधानले राष्ट्रिय जनाबर हामी सबैको हो भन्ने बनाउनुपर्छ ।’ उनले संबिधानमा दोहोरो अर्थ लाग्ने शव्द हटाउन र सबै भाषा, धर्म, जातजातीको भावना समेटिनुपर्ने राय पेश गरे । 
सहभागीहरुको लिखित र मौखिक सुझावलाई नोट गरेर टिपीरहेका थिए मञ्चमा बसिरहेका सभाषद पिके राई, सरस्वती बजीमय र जेबी टुहुरे । यस्तै, चार घण्टा ट्याक्टर चढेर कार्यक्रमस्थल पुगेका डुम्रेधारापानी–९ भोर्लेनीका पहलमान मगरले गाउँपालिका, नगरपालिका लगायतका निकायमा अपांगताकालागि आरक्षणको व्यवस्था हुनुपर्ने सुझाव दिए । संबिधानको मस्यौदाका बिषयमा सुझाव दिन आउनेमा गाबिसबाटै उनी एक्लो हुन् । संबिधानको मस्यौदामा अपांगताको हक अधिकारलाई कमजोररुपमा प्रस्तुत गरिएको उनको भनाई छ । 
कार्यक्रममा बिजयखर्कबाट पुगेका एमालेका नेता उदयबहादुर कार्की, च्यास्मीटारबाट आएका एमाओबादी नेता संगीन राई लगायत २५ जनाले मौखिकरुपमा आ–आफनो सुझाव दिए । दुई सयको हाराहारीमा उपस्थिति रहेको कार्यक्रममा सुझाव दिनेहरुको पंक्तीमा धेरैजसो दलका स्थानीय कार्यकर्ता र शिक्षकहरु बढि देखिए । सर्वसाधारणको उपस्थिति कम भएपछि सुझाव दिनेको सूचीमा उनीहरुको संख्या बढि देखिएको हो । अर्खौलेमा क्षेत्र नम्बर–१ का ३५ गाबिसका नागरिककालाई सुझाव दिनकालागि बोलाइएको थियो । भौगोलिक बिकटता र वर्षा यामका कारण सबै गाबिसबाट अपेक्षितरुपमा सर्वसाधारणको उपस्थिति रहन सकेन । 
अर्खौलेमा उपस्थित सहभागीहरुले संबिधानको नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधान राख्नुपर्ने, राष्ट्रपतिको उमेर ४० देखि ६० वर्षको तोकिनुपर्ने, रोजगार मूलक पेशा व्यवसाय गर्ने युवालाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण दिने व्यवस्था मिलाउनुपर्ने, चेलीबेटी बेचबिखनमा संलग्न र बालबालिमाथि यौन दुव्र्यबहार गर्ने दोषीलाई मृत्युदण्ड दिनुपर्ने, गाउँ, जिल्ला र केन्द्रमा युवा परिषदको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन् । सरस्वती उच्च माबिको प्रांगणमा सुझाव संकलन कार्यक्रम चलीरहँदा पानी पर्न थालेपछि कार्यक्रमलाई कोठाभित्र सारिएको थियो । 
उता, शनिबार खोटाङबजारमा सुझाव संकलन गरेका सभाषद भट्टराईले आइतबार आफ्नै पहलमा चिसापानीमा संबिधानको मस्यौदामाथि सुझाव संकलन गरेका छन् । सुझाव दिने अवशरबाट सकेसम्म सबै जनतालाई नछुटाउनकालागि चिसापानीमा सुझाव संकलन गर्ने व्यवस्था मिलाएको सभाषद भट्टराईले बताए । चिसापानीमा आयोजना गरिएको कार्यक्रममार्फत २१ जनाले लिखित र ३५ जनाले मौखिक सुझाव दिने अवशर पाएका छन् । चिसापानीमा आयोजना गरिएको कार्यक्रमबाट सकेसम्म संघीय प्रदेश कम बनाउनुपर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीको व्यवस्था, मस्यौदामा उल्लेख भएअनुशार बेरोजगार भत्ता दिन नहुने, जनजाती आयोगको व्यवस्था गरिनुपर्ने, धार्मिक निरपेक्षताको सट्टा धार्मिक स्वतन्त्रता उल्लेख गर्नुपर्ने, दलबाट अलग राखेर पेशागत संगठनहरु बन्ने व्यवस्था मिलाउनुपर्ने सुझाव आएका छन् । खोटाङबजारसम्म आउन नसक्ने सावा खोला पारीका १३ गाबिसका सर्वसाधारणको सुबिधाकालागि भट्टराईले चिसापानीमा पनि कार्यक्रम गरेको जनाए । सुझाव संकलनकालागि सभाषदहरु शुक्रबार हेलीकोप्टरबाट संबिधानको मस्यौदासहित जिल्ला आएका हुन् ।