साउन–६, जिल्लाको उत्तरी क्षेत्रमा पहिलो पटक नमस्ते मोवाइल सेवा सुचारु भएको छ । नेपाल टेलीकमले फेदी–९ मा नौं सय मेगाहर्जको एसडिआर जिएसएम मोवाइल बिटिएस जडान गरेपछि जिल्लाको उत्तरी क्षेत्रमा पर्ने दर्जनबढि गाविसमा पहिलो पटक नमस्ते मोवाइल सेवा सुचारु भएको हो ।
टेलीकमको चार करोड बढि लागतमा सोलार प्यानेलसहितको टावर जडान गरिएको नेपाल टेलीकम खोटाङका प्रमुख भरोषी साहले बताउनुभयो । उहाँले भन्नुभयो, “उत्तरी क्षेत्रमा पर्ने दश गाविसलाई लक्षित गरेर टावर जडान गरेका हौं तर, यसले खोटाङको डेढ दर्जनबढि र भोजपुरको पनि केही गाविसमा राम्रो काम गरेको छ ।”
जिल्लाको दुर्गम क्षेत्र मानिने फेदी गाविसमा टावर जडान गरिएपछि उत्तरी क्षेत्रका हजारौं सेवाग्राहीले एकसाथ कुरा गर्न पाएका छन् । सबै प्रकारका टेलीफोन सेवाको पहुँच नभएको त्यस क्षेत्रमा नमस्ते मोवाइल सेवा सुचारु भएपछि सेवाग्राहीको संख्यासमेत वृद्धि भएको टेलीकमले जनाएको छ ।
टावर जडान भएपछि डेढ÷दुई घण्टा धाएर फोन गर्न जानुपर्ने समस्या हटेको खार्मी–५ का हर्कराज राईले बताउनुभयो । एमाले गाउँ पार्टी अध्यक्ष समेत रहनुभएका राईले भन्नुभयो, “हरेक बैठक तथा पार्टीको काम घरैमा बसीबसी गर्न पाइएको छ, यसले गर्दा फोन गर्न जानआउन लाग्ने समयको समेत बचत भएको छ ।”
फेदी, पाथेका, खार्मी, बास्पानी, खार्ताम्छा, बाक्सिला, सप्तेश्वर, जालपा, हौंचुर र कुभिण्डे गाविसका उपभोक्तालाई लक्षित गरेर जडान गरिएको टावरले आसपासका अन्य गाविसका साथै भोजपुर जिल्लाका केही गाविसमा समेत सहजरुपमा सेवा दिएको टेलीकमले जनाएको छ । टावर सञ्चालनका लागि स्थानीय जलविद्युत आयोजनाबाट विद्युत उपलब्ध गराइएको छ भने, विकल्पमा सोलार प्यानेल समेत जडान गरिएको छ ।