खोटाङ भदौ–८, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ खोटाङमा असन्तुष्टी पैदा भएको छ । जिल्ला संगठनको हालै बसेको वैठकले विधान विपरित निर्णय गरेको भन्दै संगठनभित्रकै केही सदस्यले प्रेस बिज्ञप्तीमार्फत असन्तुष्टी प्रकट गरेका हुन् ।
संगठनको रिक्त पदपूर्तिका विषयमा बसेको वैठकवाट केन्द्रको विधानलाई कुल्चँदै तानाशाही र हुकुमी शैलीवाट निर्णय गरिएको भन्दै जिल्ला सदस्यहरुले आपत्ति जनाएका छन् । नेवि संघ जस्तो अन्याय र अत्याचारको विरुद्दमा लड्ने संगठनले सवैको भावनालाई समेटेर अघि बढ्नुको सट्टा विधि र विधान विपरित मनोपली ढंगले पदपूर्ति गर्ने काम गरेकोमा असन्तुष्टी रहेको विज्ञप्तीमा उल्लेख छ ।
जिल्ला सदस्यद्वय राजन भट्टराई र मन्दिप राईले हस्ताक्षर गर्नुभएको विज्ञप्तीमा लेखिएको छ–‘विधान विपरित उपाध्यक्ष ३ जना, सचिव ४ जना लगायतका अन्य सदस्य मनोनयन गरी केन्द्रको विधानलाई लत्याउने र नेपाल विद्यार्थी संघमा लामो समय काम गरेको हामी साथीहरुको विचार र भावनाको वेवास्ता गर्दै तानासाही र हुकुमी शैलीवाट पदाधिकारी नियुक्ति गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ–‘यस निर्णयप्रति हामी लगायत न्यायप्रेमी विद्यार्थी नेताहरुको घोर आपत्ति छ ।’
सदस्यहरुले विद्यार्थीको वैठकमा पार्टीका केही नेताहरुले निर्देशन गरे बमोजिम निर्णय भएको जनाएका छन् । ‘वैठकमा पार्टीको तर्फवाट केही गलत साेंचका नेताहरु प्रवेश गरी गलत निर्णय गर्न निर्देशन र उक्साहट गर्ने कार्य समेत भएको छ ।’ विज्ञप्तीमा उल्लेख छ–‘यस अधिनायकवादी शैलीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण र भत्र्सना छ ।’
उक्त निर्णय र कमजोरीहरु तुरुन्तै सच्याउन माग गरेका असन्तुष्ट पक्षले आफ्नो माग पूरा नभए विरोधका कार्यक्रम अघि सार्ने चेतावनी दिएका छन् ।