साउन–८ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले भूकम्प प्रभावित पश्चिमी छ गाविसका स्थानीयबासीलाई सरसफाइ सामाग्री प्रदान गरेको छ । गत बैशाख–१२, १३ र २९ गते गएको भूकम्पबाट पीडित बनेका परिवारमा रोगको महामारी फैलन नदिने उद्देश्यका साथ रेडक्रसले सरसफाइ सामाग्री प्रदान गरेको हो । 
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने बाहुनीडाँडा, दुर्छिम, च्यास्मिटार, खार्पा, लामिडाँडा र नुनथला गाविसका भूकम्पपीडित परिवारलाई सरसफाइ सम्बन्धी विभिन्न प्रकारका सामाग्री प्रदान गरिएको रेडक्रस सभापति कुमारसिं बस्नेतले बताउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पबाट प्रभावितमध्ये अति प्रभावित घरपरिवार छनौट गरेर सरसफाइ सामाग्री वितरण गरेका छौं, यसको मुख्य उद्देश्य भूकम्पबाट प्रभावित परिवारमा महामारी फैलन नदिने हो ।”
रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) को आर्थिक सहयोगमा सञ्चालित आकस्मिक खानेपानी सरसफाइ तथा स्वच्छता कार्यक्रममार्फत भूकम्पपीडित परिवारलाई सरसफाइ सामाग्री वितरण गरिएको रेडक्रस खोटाङका किरण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार छ गाविसका भूकम्पपीडित एक हजार ५०० घरपरिवारलाई पानी राख्ने भाँडा, तौलिया, सेनीटरीप्याड, साबुन, ब्रस/मञ्जन, ट्वाइलेट पेपर लगायतका सामाग्री प्रदान गरिएको छ ।