साउन–११, जिल्लामा बिक्री गरिएको रासायनिक मलमा ठेकेदारले कृषकमाथि ठगी गरेको पाइएको छ । जिल्लाको पश्चिमी क्षेत्रमा बिक्री गरिएको रासायनिक मल (युरिया)मा प्रति बोरा १६२ रुपैयाँका दरले कृषकहरुलाई ठगी गरेको पाइएको हो । 
सरकारी दररेट अनुसार प्रति बोरा ९३८ रुपैयाँमा पाइने ५० केजी युरिया मलमा स्थानीय ठेकेदारले १६२ रुपैयाँ ठगी गरेर एघार सय रुपैयाँका दरले बिक्री गरेको कृषकहरुले बताएका छन् । स्थानीयस्तरमा बिक्री गर्ने जिम्मा लिएका दुर्छिम–५ का मकर राईले आफूसँग प्रति बोरा एघार सय रुपैयाँ लिएको दुर्छिम–१ का चतुुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “कति रुपैयाँमा पाइन्छ भन्ने कुरा मलाई थाहा छैन तर, हाम्रै गाउँका मकर राईले प्रति बोरा एघार सय रुपैयाँका दरले बिक्री गर्नुभएको छ ।” 
मकर राईले दिक्तेलका उपिन राईमार्फत हलेसीदेखि पश्चिमी क्षेत्रमा पर्ने दुर्छिम, बडहरे, च्यास्मिटार, बाहुनीडाँडा र डिकुवा गाविसमा बसोबास गर्ने कृषकका लागि मल बिक्री गर्ने जिम्मा लिएका थिए । हलेसीमा उपिन राई आफैले ९५० रुपैयाँमा बिक्री गरेको कृषकरुले बताएका छन् । राईले कृषकहरुबाट प्रति बोरा १२ रुपैयाँ ठगी गरेको पुष्टी भएको छ ।  
कृषकलाई बिक्री गरिएको मलबाट मोवाइल खर्चबापत केही रकम आफूले लिएको मकर राईले स्वीकार गर्नुभएको छ । टेलीफोन वार्तामा उहाँले भन्नुभयो, “हलेसीबाट बिक्री गरेकामा उपिन दाइले ९५० रुपैयाँ लिनुभएको छ, बाँकी गाविसमा बिक्री गरेबापत मोवाइल खर्चका रुपमा मैले पनि केही रकम लिएको हुँ ।”
आफूले सरकारी दररेट बाहेक एक रुपैयाँ पनि नलिएको ठेकेदार उपिन राईले दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, “मैले सरकारले निर्धारण गरेको ९३८ रुपैयाँ मात्रै लिएको छु, साथीहरुले कहाँ के गर्नुभयो मलाई थाहा छैन ।”
कृषकहरु ठगिएको थाहा पाएपछि त्यसो नगर्न आफूले आग्रह गरेपनि उहाँहरुले अवैधानिक तरिकाले कृषकबाट रकम लिएको इलाका कृषि सेवा केन्द्र हलेसीका प्रमुख शिवानन्द मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले सरकारी दररेटभन्दा बढी रकम लिन नपाउने कुरा जानकारी गराएकै हो, तर उहाँहरुले लिनुभएको छ ! यसबारेमा कृषकहरु बेल्नेवाला छन् ।” 
जिल्लाको पश्चिमी क्षेत्रमा वितरण गरिएको रासायनिक मलमा ठेकेदारले ठगी गरेको कुरा कृषकहरुबाट आएकाले उनीहरुलाई कारबाही हुनुपर्ने राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवनकुमार श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “निक्कै ठूलो प्रयासपछि ढुवानीदर र मुल्य घटाइएको थियो, यसमा पनि ठेकेदारले ठगी गरेको गुनासो आएको छ । उनीहरुलाई कारबाही हुनुपर्छ ।”
जिल्लामा वितरण गरिएको मलमा एक पैसा पनि लिन नपाइने जिल्ला कृषि विकास कार्यालय खोटाङका वरिष्ठ कृषि विकास अधिकृत श्यामप्रसाद रिजालले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै वितरण केन्द्रसम्म पु¥याउन कार्यालयबाट ढुवानी खर्च उपलब्ध गराइएको छ, यदि त्यसो हो भने, त्यस्ता व्यक्तिमाथि कारबाही हुन्छ ।”
हलेसी केन्द्रमार्फत यस वर्ष ५५ मेट्रिक्टन रासायनिक मल बिक्री÷वितरण भएको कृषि कार्यालयले जनाएको छ । डिएपी प्रतिकेजी ४५ रुपैयाँ ७६ पैसा र युरिया १८ रुपैयाँ ७६ पैसामा खरिद तथा बिक्री गर्न पाउनेगरी दररेट निर्धारण गरिएको छ । 
जिल्लामा यस वर्ष १९५ मेट्रिक्टन रासायनिक मल वितरण गरिएको छ । प्रतिकेजी १५ रुपैयाँका दरले ढुवानी खर्चमा उपिन राईले ठेक्का लिएका थिए । 
जिल्लामा अन्य व्यापारीले पनि बिना अनुमती रासायनिक मल खुलारुपमा बिक्री गरिरहेको पाइएको छ । कार्यालयको अनुमती बिना कसैले पनि रासायनिक मल बिक्री गर्न नपाउने रिजालको भनाइ छ ।