साउन–१२, भतिजालाई बिष खुवाउने खोटाङकी एक महिला पक्राउ परेकी छन् । जेठाजुको ४ वर्षीय छोरा युशन भट्टराईलाई बिष खुवाउने दोर्पाचिउरीडाँडा–७ की २२ वर्षीया बिमला भट्टराई पक्राउ परेकी हुन् ।
घरमा जेठाजुसँग विवाद भएपछि सँगै विद्यालय गएका भतिजालाई मुसा मार्ने विष खुवाउने बिमलालाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “बिमलाले भतिजालाई मार्ने उद्देश्यले मुसा मार्ने बिष खुवाएको बताएकी छिन्, त्यसैले उनलाई ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही थालिएको छ ।”
घरमा भएको विवादपछि उनले आइतबार दिउसो विद्यालयमै मुसा मार्ने बिष खुवाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बिष खुवाइएका युशनको जिल्लामा उपचार हुन नसकेपछि हेलीकोप्टर मार्फत काठमाडौं पु¥याइएको छ ।
काठमाडौंको कान्ति बाल अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको बुबा युवराज भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ नल्याएको भएत बितिसक्ने रहेछ ! अहिलेसम्म बेहोस अवस्थामा छन्, डाक्टरहरुलाई सोध्दा खतरामुक्त रहेको जानकारी दिएका छन् । अहिले आँखासम्म खोल्न थालेको छ ।”
स्थानीयका अनुसार बिमला युशन पढ्ने सोही गाविसको सिर्जनशिल बोर्डिङ स्कूलको शिक्षक हुन् । उनले खाजा खाइसकेपछि ड्युको बोत्तलमा मुसा मार्ने विष घोलेर खान दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घरमा बुबासँग भएको अंश विवादपछि बुहारीले यस्तो व्यवहार गरेको पीडित बालकका बुबा युवराजले बताउनुभयो । उहाँले भन्नुभयो, “यसअघि बुबाले हामी छोराहरुको नाममा नभइ कान्छी बुहारीको नाममा जग्गा पास गर्ने तयारी गर्नुभएको रहेछ, त्यो कुरा मैले थाहा पाएपछि मालपोत कार्यालयमा गएर रोक्का गरेँ ! त्यसैको झ्वाँकमा बुहारीले मेरा नाबालक छोरालाई बिष खुवाइ दिइन् ।”
युशन आफ्नो एक मात्र सन्तान भएको युवराजले बताउनुभयो । उहाँले भन्नुभयो, “तीनवटी श्रीमतीकी एउटा छोरा, त्यो पनि यस्तो अवस्थामा हुँदा दुःख लागेर आउँछ !”
स्थानीयका अनुसार दोर्पाचिउरीडाँडा–७ का रामप्रसाद भट्टराईका छ भाइ छोरा छन् । तीमध्ये कान्छा छोरा मोहन भट्टराई र बुहारीसँग उनी बस्दै आएका छन् ।