
साउन–१४, तीन दिनदेखि विद्युत अबरुद्ध हुँदा खोटाङमा अन्धकार भएको छ । उदयपुरको जलजलेदेखि दिक्तेलसम्मको ११ केभी प्रशारण लाईन मंगलबार साँझदेखि अबरुद्ध हुँदा जिल्लाको दश हजार बढी घरधुरी अन्धकारमय भएको हो ।
अबरुद्ध विद्युत कहाँनेर बिग्रेको भन्ने नै अझै पत्ता नलागेको विद्युत प्राधिकरण खोटाङका निमित्त प्रमुख धनबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक टोली खटाइएको छ, लगातारको वर्षाका कारण अहिलेसम्म फल्ट नै पत्ता लागेको छैन ।”
कहिलेसम्ममा बन्ने भन्ने बारेमा पनि प्राधिकरणलाई थाहा नभएको प्राधिकरणले जनाएको छ । स्थानीय उपभोक्ताले भने विद्युत प्राधिकरणको बेवास्ताका कारण अबरुद्ध भएको तीन दिन बितिसक्दा पनि नबनाएको आरोप लगाएका छन् ।
जिल्लामा विद्युत नहँुदा व्यापार–व्यवसाय समेत घटेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सञ्चारमाध्यमदेखि लिएर फोटोकपी, उद्योग, कलकारखानामा समेत असर परेको छ, यसप्रति सम्बन्धित निकायले ध्यान दिएको छैन ।”
विद्युत अबरुद्ध हुँदा जिल्लास्थित सरकारी कार्यालयको काममा समेत असर परेको निमित्त प्रमुख जिल्ला अधिकारी अर्जुन राईले बताउनुभयो । उहाँले भन्नुभयो, “यसबारे प्राधिकरणलाई ताकेता गरिरहेको छु, सम्भवतः भोलीसम्ममा बनाउँछ होला !”
विद्युत अबरुद्ध भएपछि जिल्लामा सञ्चालित बैंक तथा बित्तीय कारोबार अवरुद्ध भएको छ भने, चार्ज गर्न नपाउँदा सबै प्रकारका मोवाइल सेवा समेत अबरुद्ध भएको छ ।