साउन–१७, जिल्लाका महिलाहरु ढाका बुन्ने पेशाप्रति आकर्षित बन्दै गएका छन् । पछिल्लो पुस्ताले ढाकाका कपडा प्रयोग गर्न थालेपछि जिल्लाका दर्जन बढी महिलाहरु यस पेशाप्रति आकर्षित बनेका हुन् ।
दिक्तेल नगरपालिका–२ की ४० वर्षीया तारा सुन्दास कपडामा बनाइएका थरी–थरीका बुट्टाहरु देख्दा चकित हुनुहुन्थ्यो र कपडामा कसरी बुट्टा भर्ने होला भनेर सोच्नुहुन्थ्यो । अन्ततः लामो समयपछि ढाका कपडामा बुट्टा बनाउने वा बुट्टेदार ढाका कपडा बुन्ने सुन्दासको धोको पूरा मात्रै भएको छैन उहाँले यही पेशा अपनाएर राम्रो कमाइ समेत गर्न थाल्नुभएको छ ।
दिक्तेलमै सञ्चालन गरिएको तीन महिने ढाका बुनाइ तालिम लिने अवसर पाएपछि उहाँले आफ्नै हातले ढाका कपडा बुन्ने र बुट्टा भर्ने सीप र दक्षता प्राप्त गर्नुभएको हो । “पहिलापहिला कपडामा कसरी बुट्टा बनाएको होला भनेर सोच्ने गर्थेँ ।” सुन्दासले तानमा धागो छिराउँदै भन्नुभयो, “अहिले आफैले बुनेको कपडा बिक्री गरेर घर खर्च धान्ने भएकी छु ।”
उहाँले सदरमुकाम दिक्तेलमै व्यवसायिक रुपमा ढाका कपडा बुन्ने व्यवसाय सञ्चालन गर्नुभएको छ । उहाँ जस्तै दिक्तेल नगरपालिका–१० लफ्याङकी रोजिना मुग्रातीले पनि ढाका कपडा बुन्ने व्यवसाय सञ्चालन थाल्नुभएको छ ।
यही पेशाबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि व्यवसायिक रुपमा ढाका बुन्ने व्यवसाय थालेको मुग्राती बताउनुहुन्छ । “पहिला कपडा बुन्न त के धागोबाट बन्ने कुनै सामान पनि बनाउन आउँदैनथ्यो ।” १७ वर्षीया मुग्राती भन्नुभयो, “अहिले आफूले बुनेर बेचेको ढाका कपडाको पैसाले राम्रै आम्दानी हुन थालेको छ ।”
सुन्दास र मुग्राती जस्तै जिल्लाका अन्य आठ महिला पनि ढाका कपडा बुन्ने पेशालाई उद्योगको रुप दिने तयारीमा छन् । उनीहरुले रङ्गीबिरङ्गी धागोबाट तानको सहारामा चौबन्दी चोलो, पछ्यौरा, रुमाल, टोपी, गलबन्दी लगायतका कपडा तयार पार्छन् ।
जिल्लामा ढाका कपडाको खपत बढि हुने भएकाले यो व्यवसायको राम्रो सम्भावना रहेको उद्योग वाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । हालसम्म जिल्लामा व्यवसायिक रुपमा ढाका बुन्ने पेशा अंगाल्ने महिलाको संख्या कम भएकाले पनि यसको सम्भावना बलियो देखिएको लयालुको भनाइ छ ।
उनीहरुले उत्पादन गरेको ढाका कपडा दिक्तेलमा सञ्चालित कोसेली घर, स्थानीय हाटबजार तथा बाहिरी जिल्ला समेत निकासी हुने गरेको छ । “ढाका कपडा बुन्ने पेशा चर्को हो, बुनेपछि बजारको चिन्ता हुँदैन ।” सुन्दासले थप्नुभयो, “कपडा बेच्न टाढा लैजान पर्दैन, दिक्तेलकै कोसेली घरमा जान्छ, हाटबजारमा पनि खपत हुन्छ ।”
दिक्तेल नगरपालिकाको तीन लाख ५० हजार सहयोगमा एकीकृत विकास मञ्च खोटाङले तीन महिने तालिमको बन्दोबस्त मिलाएपछि पिछडिएका र निम्नआर्थिकस्तरका महिलाहरुले ढाका बुन्ने अवसर पाएका हुन् । महिलालाई सीप सिकाएर व्यवसायिक र आत्मनिर्भर बनाउन तालिमको बन्दोबस्त मिलाइएको मञ्चकी सचिव बिमला राईले बताउनुभयो ।