
साउन–१९, खोटाङको नुनलथा–९ का क्यान्सर पिडित यामबीर तामाङलाई प्रबासमा रहेका नेपालीबाट उपचार खर्च जुटेको छ । आवश्यक रकमको अभावमा हाड क्यान्सरको उपचार गराउन नसकिरहेका पिडित तामाङलाई मलेसिया, कतार लगायतमा कार्यरत प्रबासीबाट ८३ हजार ८१९ रुपैयाँ सहयोग प्राप्त भएको हो ।
मलेसियामा रहेका खोटाङका चिसाङ शेर्पाको संयोजनमा ७७ हजार ३०६ रुपैयाँ, कतारमा रहेका दोर्ची शेर्पाबाट ३ हजार ९५७ र मलेसियामै रहेका सुर्य राईबाट २ हजार ५६६ रुपैयाँ रकम संकलन भएको हो । बोन क्यान्सर पिडित यामबीरको तामाङको सहयोगार्थ सञ्चालित फेसबुक ग्रुप च्याटका माध्यमबाट संकलन भएको ८३ हजार ८१९ रुपैयाँ रकम पिडितका दाई सुरेश तामाङको नाममा पठाइएको मलेसियाबाट चिसाङ शेर्पाले जानकारी दिए । क्यान्सरको उपचारकाक्रममा आर्थिक समस्य झेलीरहेका यामबीरको सहयोगार्थ प्रबासमा रहेका कामदारबाट सहयोग रकम जुटाइएको शेर्पाले जनाए । निम्न आर्थिकस्तर भएका तामाङको डेढ वर्षदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । दाहिने खुट्टाको घुँडामा क्यान्सर भएपछि उपचार गराइरहेका २६ वर्षीय तामाङलाई यसअघि खोटाङ सेवा समाज दोहा कतारले पनि ६५ हजार सहयोग पठाएको थियो ।
![]() |
अस्पतालको बेडमा क्यान्सर पिडित यामबीर तामाङ । तस्बिरः हाम्रो खोटाङ डटकम |
आवश्यक खर्चको अभावमा उनको खुट्टाको अप्रेसन हुन सकेको छैन । रोगको पहिचान गर्न र निदानकाक्रममा डेढ वर्षको अवधिमा ९ लाख खर्च भइसकेको तामाङ परिवारको भनाई छ । तामाङको क्यान्सरको अप्रेसन गर्न र किमोथेरापी गराउन उनलाई थप ६ लाख खर्चको आवश्यकता परेको खबर सुनेपछि मलेसियामा सहयोग संकलन अभियान सञ्चालन गरिएको हो । आफन्तका अनुशार उनको आउँदो बुधबार अन्तिम शल्यक्रीय हुँदैछ ।
बुढेसकालका आमाबाबु, श्रीमती र दुई बच्चाको एक्लो साहराकारुपमा रहेका तामाङ क्यान्सरले थलिएपछि परिवारको बिचल्नी भएको छ । लामो समयसम्म विद्यालयमा अनुपस्थित भएका कारण तामाङको शिक्षण पेशा समेत गुमेको परिवारले बताएका छन् । सुरुमा उनको दायाँ खुट्टा सुन्निने र दुख्ने समस्या देखा परेको थियो । उपचारकालागि बिभिन्न अस्पतालमा धाउँदा समस्या पत्ता नलागेपछि उनी पाटन अस्पताल पुगे । पाटन अस्पतालले रोगको पहिचान नै नगरी खुट्टा काट्नुपर्ने बताएपछि भक्तपुर क्यान्सर अस्पताल पुगेको तामाङ बताउँछन् । ‘पाटन अस्पतालमा खुट्टा काट्नुपर्छ भनेपछि डिस्चार्ज लिएर भक्तपुर क्यान्सर अस्पताल पुगेँ,’ तामाङले भने, ‘त्यहाँ पुगेपछि थाहा भयो बोन क्यान्सर भएको रहेछ ।’
हाल उनको खुट्टामा बोन सिमेन्ट राखिएको छ । अस्पतालका अनुशार उनको घुँडाको तत्काल अप्रेसन गरेर नक्कली खुट्टा राख्नुपर्ने अवस्था छ । आम्दानीको स्रोत नभएका कारण अप्रेसन खर्चकालागि क्यान्सर पिडित तामाङले सहयोगको अपिल गरेका छन् । ‘आम्दानीको श्रोत शिक्षण पेशा थियो, बिरामी भएपछि त्यो पनि टुटेको छ,’ उनले भने, ‘अव तपाईहरुको साथ पाएँ भने मात्र बाँच्न सक्छु ।’