
साउन–३०, छुरा प्रहारबाट घाइते बनेका खोटाङका एक वृद्धलाई खाद्यान्न सहयोग गरिएको छ । दोर्पाचिउरीडाँडाका भूपाल राई लगायतको छुरी प्रहारबाट घाइते बनेका दिक्तेल नगरपालिका–४ का ६० वर्षीय भीमप्रसाद आचार्यलाई शनिबार चामल, नुल, तेल लगायतका सामग्री सहयोग गरिएको हो ।
सदरमुकाम दिक्तेलबजारका सुचन राई नेतृत्वको नौं जना युवाले छुरा प्रहारबाट असक्त बनेका आचार्यलाई एक बोरा चामल, एक केजी चिनी, दुई केजी नुन, तीन पोका तेल, आठ प्याकेट चाउचाउ, बिस्कुट प्रदान गरेका हुन् । छुरा प्रहारबाट हिँड्न नसक्ने अवस्थामा पुगेका आचार्यलाई आफ्नो गोजीबाट संकलन गरिएको रकमबाट खरिद गरिएको सामाग्री घरमै पु¥याएर प्रदान गरिएको नेतृत्वकर्ता सुचनले बताउनुभयो ।
![]() |
छुरी प्रहारबाट थलिएका भीमप्रसाद आचार्यलाई खाद्यान्न प्रदान गर्दै युवाको टोली । तस्विरः हाम्रो खोटाङ डटकम |
महिना दिनअघि घुँडामा प्रहार गरिएको छुराको चोटले थलिएपछि यसपल्ट धान र कोदो रोप्न नसकेका आचार्यको बिचल्ली भएको थाहा पाएपछि सहयोग गरेको राईको भनाइ छ । गत असार–२० गते बसपार्क नजिक कृष्ण खत्रीको घरमा बसिरहेको समयमा आफूमाथि बिना कारण छुरी प्रहार भएको आचार्यले बताउनुभएको छ ।
अधिया खेती गरेर परिवार पाल्दै आउनुभएका आचार्यको दाहिने खुट्टाको घुँडामुनि छुरा प्रहार गरिएको छ । छुरा प्रहार गर्ने विरुद्ध असार–२१ गते रत्नपार्कस्थित प्रहरी बुथमा उजुरी दिइएपनि हालसम्म दोषीलाई कारबाही नभएको आचार्यले बताउनुभयो ।