साउन–३१, पहिचानसहितको संघीयता हुनु पर्ने माग राख्दै संघीय समाजवादी फोरम नेपाल र वैद्य नेतृत्वको नेकपा–माओवादीले आव्हान गरेको जिल्ला बन्दले खोटाङको जनजीवन प्रभावित भएको छ । दुई पार्टीले संयुक्त रुपमा आव्हान गरेको बन्दले जिल्लामा सञ्चालित यातायातका सवारी साधन, शैक्षिक संस्था, उद्योगधन्दा, बजारपसल लगायत बिहानैदेखि ठप्प छ । 
बन्दकर्ताहरु सदरमुकाम दिक्तेलको चौकचौकमा लाठीसहित डुलीरहेका छन् भने, अप्रिय घटना हुन नदिन ठाउँठाउँमा सुरक्षाकर्मीको टोली तैनाथ बसेका छन् । जिल्लामा हुन सक्ने सम्भावित घटनालाई न्युनिकरण गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले बताउनुभयो । 
आदिवासी जनजाति, मधेसी, महिला, शिल्पी समुदाय, अल्पसंख्यक, सीमान्तकृत, खस लगायतको अस्तिŒव नामेट हुने गरी संविधान बनाउन लागेकाले त्यसको विरोधमा दुई दिने जिल्ला बन्दको आह्वान गरिएको संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष सूर्यबहादुर राईले बताउनुभयो । “अन्तरिम संविधानमा भएको व्यवस्थालाई संस्थागत गर्नुको सट्टा सत्ता साझेदारीको नाममा भागबण्डा गरिएको छ ।” उहाँले भन्नुभयो, “पहिचान, स्वयत्तता, गणतन्त्र, धर्म निरपेक्षता र समानुपातिक प्रतिनिधित्व आदि सबै उपलब्धी संस्थागत गर्दै संविधानमा लिपिवद्ध नगरिएसम्म आन्दोलन जारी रहन्छ ।”
बन्द आव्हानसँगै शनिबार साँझ सदरमुकाम दिक्तेलमा दुवै पार्टीले संयुक्त रुपमा मसाल जुलुस निकालेको थियो । शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै आ–आफ्नो क्षेत्रबाट बन्द सफल पार्न सहयोग गरिदिन दुवै पार्टीले अपिल गरेको थियो ।