
साउन–३२ साउनको अन्तिम सोमबारका दिन खोटाङको हलेसी, मझुवागढी, बराहपोखरी लगायतका धार्मिकस्थलहरुमा दर्शनार्थीको घुइँचो लागेको छ । दर्शन गर्न आउनेमा सबैभन्दा बढि महिला छन् । धार्मिकस्थलहरुमा साउनको पाँचै वटा सोमबार पूजापाठ गर्नेको भीड भएपनि अन्तिम सोमबारका दिन बढि भीड देखिएको हलेसी मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनु भयो ।
आफ्नो ब्रत समापनकालागि धार्मिकस्थलहरुमा महिलाको घुइँचो लागेको हो । सोमबार हलेसी र बराहपोखरीमा बोलबम मेला समेत लागेको छ । हलेसी र बराहपोखरीमा साउनभरी हरेक सोमबारका दिन नै मेला लाग्ने गरेको छ ।
बोलबम मेलाको अवधिमा हलेसीमा नेपालका सिराहा, सप्तरी, धनुषा, जनकपुर, झापा, बिराटनगर, ईलाम, भारतको सिक्किम, दार्जिलीङ, गान्तोक, भुटान, चिनको तिब्बतलगायतका ठाउँबाट दर्शनार्थी आउने गरेका छन् । मनोकांक्षा पूरा हुने बिश्वासमा हलेसी र बराहपोखरीमा साउनको प्रतेक सोमबार बिभिन्न नदीबाट ल्याईएका जल चढाउने गरिन्छ । हलेसी र बराहपोखरीमा देश तथा बिदेशबाट आएका हिन्दु धर्मावलम्बीहरुले नुहाएर ब्रत गर्दै महादेब, पार्वती र गणेशलाई नदीको जल चढाउने गरेका छन् ।
हलेसीमा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दै र अविवाहिता महिलाले असल श्रीमान् पाउने कामना गर्दै पूजाअर्चना गर्ने प्रचलन रहिआएको छ । पवित्र जल तथा बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो मनोकामना पूरा हुने र सुखशान्ति मिल्ने विश्वास छ ।