भदौ–१, संघीय समाजवादी फोरम नेपाल र नेकपा–माओवादी खोटाङले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । आन्दोलनका क्रममा मंगलबार सप्तरीको भारदहमा प्रहरीले हानेको गोली लागेर सञ्जीव राउतको मृत्यु भएको विषयलाई लिएर गृहमन्त्री वामदेव गौतमको राजीनामाको माग गरेका हुन् । 
मंगलबार साँझ दिक्तेलस्थित सुम्नीमा होटलमा पत्रकार सम्मेलन गरी दुई पार्टीले निशस्त्र नागरिकमाथि सशस्त्र प्रहरी परिचालन गरेर मानव अधिकार उल्लंघन गर्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका छन् । आफूलाई चित्त नबुझेको विषयमा शान्तिपूर्ण आन्दोलन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार कुण्ठित गर्दै गृहमन्त्रीको ठाडो आदेशमा आन्दोलनकर्मीमाथि प्रहरीले गोली हानेको उनीहरुको आरोप छ ।
राष्ट्रियता, स्वाधिनताको रक्षा तथा आत्मसम्मानका लागि शान्तिपूर्ण आन्दोलनमा उत्रिएका आन्दोलनकर्मीमाथि गोली प्रहार गर्ने प्रहरीलाई कानूनी कारबाही गर्नुपर्ने उनीहरुले जारी गरेको संयुक्त विज्ञप्तीमा उल्लेख छ । “निशस्त्र नागरिकमाथि सश

स्त्र प्रहरी परिचालन गरी मानव अधिकार उल्लंघन गर्ने हत्यारालाई कडा कारबाही गर्नुपर्छ ।” पत्रकार सम्मेलनमा बोल्दै संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष सुर्यबहादुर राईले भन्नभयो, “नागरिकमाथि हस्तक्षेप गर्ने गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ ।”

आन्दोलनकारीमाथि गोली हान्ने, धरपकड र दमन भइरहेको घटनाप्रति उनीहरुले ध्यानाकर्षण भएको जनाएका छन् । दुई पार्टीले विषम परिस्थतिको गाम्भीर्यतालाई मध्यजनर गर्दै आन्दोलनकारीको माग पूरा गर्न विज्ञप्तीमा भनेको छ ।
आफूहरुको मागलाई बेवास्ता गरिए थप आन्दोलन चर्काउने उनीहरुले विज्ञप्तीमार्फत चेतावनी दिएका छन् । जिल्लामा दुई पार्टीले आन्दोलन जारी राखे पनि अप्रिय घटना भने भएको छैन ।