भदौ ६ खोटाङ । भूकम्पका कारण मुहान सुकेको खोटाङको हलेसीमा लगातारको वर्षापछि पुनः पानी पलाएको छ । गत बैशाख १२ गतेको भूकम्पपछि एक्कासी सुकेको बसाहाथानदेखि उत्तरपट्टी रहेको मुहानमा पुनः पानी पलाएको हो ।
पानी पलाएपछि हलेसी आउने तीर्थालुलाई सहज भएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताउनुभयो । “पाँचवटा धारामा अटीनअटी आउने पानी भूकम्पपछि सुकेको थियो ।” उहाँले भन्नुभयो, “लगातारको वर्षापछि फेरि पलाएको छ, यसले गर्दा तीर्थालुका साथै स्थानीयवासीलाई सहज भएको छ ।”
सुकेको मुहानमा पुनः पानी पलाएपछि स्थानीयवासी हर्षित छन् । हलेसी क्षेत्रमा बसोवास गर्ने तीन सय घर परिवारले उपभोग गर्ने उक्त पानीको मुहान सुकेपछि डेढ घण्टा टाढाबाट खोलाको पानी ल्याएर पिउन बाध्य थिए ।
नेपालकै एक मात्र त्रिधार्मिकस्थल हलेसीमा खानेपानीको दीर्घकालीन योजना बन्न नसक्दा यस्तो समस्या भएको हलेसी विकास समितिका कार्यकारी निर्देशक तामन राईले बताउनुभयो । यसको दीर्घकालीन समस्या समाधान गर्न प्राविधिक टोली खटाएर प्रतिवेदन तयार गर्ने काम थालिएको खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय खोटाङका प्रमुख विजयकुमार ठाकुरले बताउनुभयो ।