भदौ ६ खोटाङ । प्रेम र त्यसपछिको आनन्दले मृत्युको सङ्घारमा पु¥याउँछ भन्ने सोचेकी पनि थिएनन् खोटाङकी की १५ वर्षीया ललिता राईले (नाम परिवर्तन) । हलेसीस्थित एक विद्यालयमा कक्षा–८ मा अध्ययरत ललिता मङ्गलटार–९ का १९ वर्षीय एक युवकसँग प्रेम बन्धनमा गाँसिएपछि यतिखेर जिल्ला अस्पताल खोटाङको शैयामा मृत्युसँग लडिरहेकी छन् ।
असुरक्षित गर्भ पतनपछि अधिक रक्तश्रावका कारण जिल्ला अस्पताल खोटाङमा उपचारत १५ वर्षीया ललिता । |
ती युवकसँग प्रेम सम्बन्ध बसेपछि ललिता गर्भवती भइन् । त्यसपछि आफ्नो पेटमा हुर्कदै गरेको करिब तीन महिनाको गर्भ खोल्न प्रेमी ती युवकले आग्रह गरे । सँगै मर्ने र सँगै बाँच्ने वाचा गरेको प्रेमीको आग्रहलाई अस्वीकार गर्न नसकेर ललिताले प्रेमीले दिएको गर्भ फाल्ने औषधि खाइन् ।
औषधि खाएपछि अत्यधिक रक्तश्राव भयो र त्यसैले ललिता मृत्युसँग लडिरहेकी हुन् । गत साउन–३२ गते जिल्ला अस्पताल खोटाङमा भर्ना भएकी ललिताको अवस्था गम्भीर रहेको अस्पतालका प्रमुख डाक्टर माधवप्रसाद लम्सालले बताउनुभयो । डाक्टर लम्सालका अनुसार अत्यधिक रक्तश्रावका कारण ललिताको दुबै मृगौलाले काम गर्न छाडेको छ ।
भर्ना भएको चार दिनपछि अस्पतालले रेफर गरे पनि उडान अवरुद्ध र परिवारको आर्थिक अवस्था कमजोर भएका कारण सुविधा सम्पन्न ठाउँमा उपचारमा लान सकेका छैनन् । ललितालाई मायाँ जालमा फसाएर गर्भ फाल्ने औषधि खुवाउने दिपेनलाई प्रहरीले पक्राउ गरेको छ ।
दिपेन्द्र नामका ती युवालाई कारबाही गर्नुको साटो ललिताको उपचारमा भएको सम्पूर्ण खर्च बेहोराउने पक्षमा ललिताको आफन्त लागी परेका छन् । ललिताका काका हिमाल राईका अनुसार आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च खेपाउनुका साथै ललितालाई जिम्मा लगाउने तयारी गरिएको छ ।
पक्राउ परेका दिपेन्द्रले ललिताको उपचार खर्च ब्यहोर्नुका साथै विवाह गर्ने बताएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “ललिताको कम उमेर भएकाले सहमतीमा गर्भपतन गर्ने औषधि खुवाएको दिपेन्द्रले स्वीकारेका छन्, त्यसैले पीडित ललिताको आफन्तको कुरा बुझेर कारबाही अगाडि बढाइनेछ ।”
त्यसो त जिल्लामा भएको यो प्रतिनिधि घटना मात्र हो । पछिल्लो समय जिल्लामा यस्ता थुप्रै घटना भएका छन् । गाउँमा गर्भ पतनका लागि औषधि सेवन गर्ने र पार नलागेपछि जिल्ला अस्पताल आउने गरेको प्रमुख डाक्टर लम्सालको भनाइ छ । “गाउँमा गर्भपतनका लागि जाथाभावी औषधि सेवन गर्ने र पार नलागेपछि अस्पताल आउनेको संख्या मासिक पाँच÷छ जना हुन्छ ।” लम्सालले भन्नुभयो, “अस्पतालमा वैधानिक तवरले सुरक्षित गर्भपतन गर्ने सुविधा हुँदाहुँदै जथाभावी गर्भपतन गराउनाले ज्यान जोखिममा परेको छ ।” उहाँले थप्नुभयो, “अस्पतालमा गोपनीयता नहुने भन्ने भ्रम छ, त्यो निराधार हो, यसका लागि गाउँगाउँमा सूचना दिनु जरुरी छ ।”
अस्पतालका अनुसार पछिल्लो समय सुरक्षित गर्भ पतन गराउनेको संख्या वृद्धि भएको पाइएको छ । गत आर्थिक वर्ष २०७१÷०७२ मा मात्रै १२९ जनाले सुरक्षित गर्भ पतन सेवा लिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स उर्मिला राईले बताउनुभयो ।