
भदौ–१३ । स्थानीय एक युवालाई बाटो छेकेर कुटपिट गरी फरार रहेका खोटाङका दुई अभियुक्त नौं महिनापछि पक्राउ परेका छन् । गत २०७१ पुस २१ गते बिहान खार्मी–९ का २० वर्षीय रोहित राईलाई बाटो छेकेर कुटपिटगरी गम्भीर घाइते बनाउने सोही स्थानका ३७ वर्षीय टीकाबहादुर राई र उनका १७ वर्षीय छोरा कृष्णबहादुर राई पक्राउ परेका हुन् ।
पक्राउ परेका दुवै जनालाई आइतबार जिल्ला प्रशासन कार्यालयमा हाजिर गराइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले बताउनुभयो । रोहितलाई बिना कारण बाटो छेकेर कुटपिट गर्ने बाबुछोरा विरुद्ध सार्वजनिक अपराध ऐन अन्तरगत कारबाही थालिएको माझीको भनाइ छ ।
रोहितलाई कुटपिट गर्ने बाबुछोरा विरुद्ध घटना लगत्तै सार्वजनिक मुद्दा दर्ता भएपछि दुवैजना फरार रहेका थिए । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले गत भदौ ११ गते घरैबाट पक्राउ गरेको थियो । बाबुछोराको कुटाइबाट गम्भीर घाइते बनेका रोहितको जिल्ला अस्पताल खोटाङमा उपचार गरिएको थियो । घाइते रोहितको टाउको र शरिरको विभिन्न ठाउँमा गहिरो चोट लागेको थियो ।
जिल्लामा भएका घटनापछि फरार अभियुक्तलाई पक्राउ गर्न विशेष अभियान थालिएको प्रनाउ माझीले जानकारी दिनुभयो । यसका लागि प्रहरी अधिकृतहरुको नेतृत्वमा विशेष टोली गठन गरिएको जनाइएको छ ।