भदौ–१७, वर्षाको पानीले रेडियो लिंक भिजेका कारण माथिल्लो सगरमाथाका तीन जिल्लामा टेलीफोन सेवा ठप्प भएको छ । उदयपुरको चित्रेस्थित नेपाल टेलीकमको रिपिटर टावरको रेडियो यूनिट जिभेका कारण खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा बिहिबार बिहानदेखि सबै प्रकारका टेलीफोन अवरुद्ध भएको नेपाल टेलीकम जिल्ला शाखा खोटाङका प्रमुख भरोशी शाहले बताउनुभयो ।

बुधबार साँझ परेको वर्षाको पानीले रेडियो यूनिट भिजेपछि ल्याण्डलाईन, नमस्ते तथा स्काई मोवाइल सेवा पुर्णरुपमा अवरुद्ध भएको टेलीकमले जनाएको छ । टेलीफोन सेवा अवरुद्ध हुँदा सरकारी, गैर–सरकारी र व्यक्तीगत काम प्रभाबित भएको छ । जिल्लामा थ्रिजी बाहेकका अन्य सेवा ठप्प छ ।

फोनसँगै इन्टरनेट अवरुद्ध हुँदा सञ्चारकर्मी समेत मारमा परेका छन् । अवरुद्ध टेलीफोन सुचारु गराउनकालागि बिहिबार काठ्माण्डौंबाट उदयपुरको चित्रेतर्फ प्राबिधिकको टोली प्रस्थान गरेको शाहले जानकारी दिनुभयो ।