भदौ–२०, खोटाङको दिक्तेलमा निर्माणाधिन बहुउद्देश्यीय कवर्डहल आर्थिक अभावमा अलपत्र परेको छ । चन्दा संकलन र जनश्रमदानबाट  निर्माण थालिएको बहुउद्देश्यीय कवर्डहलका लागि आवश्यक रमक अभाव भएपछि अलपत्र परेको हो ।

एक करोड १६ लाखको लागतमा निर्माण कार्य सम्पन्न गर्नेगरी निर्माण कार्य थालिएको कवर्डहलका लागि आर्थिक अभाव भएकाले अलपत्र परेको निर्माण उपभोक्ता समितिका अध्यक्ष कुमार आचार्यले बताउनुभयो । “जनश्रम र केही चन्दा संकलनबाट जग र पिल्लर उभ्याउने काम भएको छ ।” उहाँले भन्नुभयो, “यसमा राज्यको लगानी आवश्यक छ, त्यसैले सरकारको ध्यान जान जरुरी छ ।”

अलपत्र कवर्डहल छिटो सम्पन्न गर्न जिविस तथा अन्य दातृ निकायसँग सहयोगको अनुरोध गरिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । यसका लागि  वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका आप्रवासी खोटाङ्गेहरुलाई समेत सहयोगको अपिल गरिएको अध्यक्ष आचार्यको भनाइ छ ।

८१ फिट लम्वाइ, ५६ फिट चौडाइ र ३३ फिट उचाइ हुने कवर्डहल निर्माण भइसकेपछि हलभित्रै भलीबल, बास्केटबल, टेबल टेनिसलगायतका खेल खेल्न सकिने छ । पूर्वाञ्चलकै सबैभन्दा ठूलो मानिएको कवर्डहल निर्माणका लागि जिल्लास्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारी, खेलाडी र स्थानीयवासीले जनश्रमदान गरेका छन् ।

कवर्डहललाई सभा÷सम्मेलन, गोष्ठी लगायत औपचारिक तथा अनौपचारिक कार्यक्रम गर्नमा पनि प्रयोग गर्न सकिने जनाइएको छ । निर्माणाधिन कवर्डहलका लागि जिल्ला विकास समितिले छाना उपलव्ध गराउने बताएको छ ।

दिक्तेलको माटीकोरेमा निर्माणाधिन कवर्डहलसम्म जाने मोटर बाटो जनश्रमबाट निर्माण गरिएको छ । पाँच वर्षअघि निर्माण कार्य थालिएको कवर्डहलमा अहिलेसम्म जनश्रम र नगदगरी ४५ लाख बढी खर्च भइसकेको निर्माण उपभोक्ता समितिले जनाएको छ । 

अलपत्र कवर्डहल निर्माणका लागि उपभोक्ता समितिसँग छलफल भइरहेको खेलकुद विकास समितिका अध्यक्ष माइतीराज राईले बताउनुभयो । “जिल्लामा कवर्डहल निर्माण गर्न सके खेल क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ ।” उहाँले भन्नुभयो, “अहिले अलपत्र अवस्थामा रहेकाले यसको निर्माण कार्य सम्पन्न गर्न सबै लागी पर्नुपर्ने अवस्था आएको छ ।”