भदौ–२१, जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल कालोपत्रे हुने भएको छ । नागरिक उड्यन प्राधिकरणको ९ करोड २५ लाख २९ हजार ६१ रुपैयाँ ९८ पैसा लगानीमा विमानस्थल कालोपत्रे हुने भएको हो ।

सञ्चालनमा आएको लामो समयपछि कालोपत्रे गर्न लागिएको विमानस्थलका लागि ठेक्का आव्हान गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । गत वर्ष डिटेल सर्भे गरिएको विमानस्थल कालोपत्रेका लागि यस वर्ष साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको छ ।

वि.सं. २०५२ सालबाट निर्माण कार्य थालेर २०५६ सालबाट उडान सुरु गरिएको विमानस्थल अहिले अवरुद्ध छ । नेपाल एयरलायन्स्ले हप्ताको दुई पटक थामखर्क–काठमाडौं र थामखर्क–बिराटनगर उडान भर्दै आएको विमानस्थल वर्षाद्का कारण गत असार १५ गतेदेखि अवरुद्ध भएको हो ।

वर्षाद्को समयमा हरेक वर्ष विमानस्थल अवरुद्ध हुँदा दक्षिणी क्षेत्रका हजारौं जनता समस्यामा पर्ने भएकाले बाह्रै महिना सञ्चालनमा ल्याउन कालोपत्रेको पहल गरिएको सभाषद् विशाल भट्टराईले बताउनुभयो । “अन्य यातायातको सुविधा नपुगेको दक्षिणी क्षेत्रमा भएको एउटा विमानस्थल पनि वर्षाद्को समयमा अवरुद्ध हुन्छ ।” उहाँले भन्नुभयो, “यसले गर्दा हजारौं जनताले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था छ, त्यसैले उनीहरुको उद्दारका लागि मन्त्रीज्यूसँगको समन्वयमा कालोपत्रे गर्न लागिएको हो ।”

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने २० गाविसका साथै भोजपुरको केही गाविसका सेवाग्राहीका लागि उपर्युक्त मानिएको विमानस्थल कालोपत्रे हुने भएपछि स्थानीय हर्षित छन् । कालोपत्रे गरिएपछि बाह्रै महिना विमान उडान/अवतरण हुने भएपछि स्थानीय हर्षित भएका हुन् ।

दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा थामखर्क, खानीडाँडा र लामीडाँडागरी तीनवटा विमानस्थल सञ्चालनमा छन् ।

सदरमुकाम दिक्तेलबाट सबैभन्दा नजिक रहेको मनमायाँ राई खानीडाँडा विमानस्थल भर्खरै कालोपत्रे भएको छ । उक्त विमानस्थलमा प्रत्येक दिन उडान हुँदै आएको छ ।