
भदौ–२३, जिल्लाका एक कृषकले किबीको बिरुवा बिक्री गरेर मनग्य आम्दानी गर्नुभएको छ । विगत तीन
वर्षदेखि किबीको व्यवसायिक नर्सरी सुरु गर्नुभएका दोर्पाचिउरीडाँडा–८ का शुभचन्द्र राईले यस वर्ष मात्रै साँढे पाँच लाख रुपैयाँ आम्दानी गर्नुभएको हो ।
विभिन्न प्रजातिका किबीको नर्सरी राख्नुभएका राईले प्रतिगोटा ६०० रुपैयाँसम्ममा बिरुवा बिक्री गर्नुभएको छ । गोल्डेन, हेवार्ड र रेड प्रजातिका गरी यस वर्ष छ हजार ७०० वटा बिरुवा बिक्री गरेको राईले बताउनुभयो ।
राईका अनुसार हेवार्ड प्रजातिको किबीको बिरुवा प्रतिगोटा ३५०, रेड ५०० र गोल्डेन ६०० रुपैयाँमा बिक्री हुने गरेको छ । राईले उत्पादन गर्नुभएको बिरुवा नर्सरीबाटै बिक्री हुने गरेको जनाइएको छ ।
पछिल्लो समय जिल्लाका कृषक किबी खेतीप्रति आकर्षित बनेपछि आगामी वर्ष बाह्र हजार बिरुवा उत्पादन गर्ने तयारी गरेको राईले बताउनुभयो । राईका अनुसार नर्सरीमा उत्पादित किबीको बिरुवा जिल्लाभित्रका सबै गाविस तथा छिमेकी जिल्ला भोजपुरमासमेत निर्यात हुने गरेको छ ।
शुभ कृषि फार्म दर्ता गरेर व्यवसायिक नर्सरी थाल्नुभएका राईले स्थानीय तीन जना युवालाई रोजगारीसमेत दिनुभएको छ । व्यवसायिक नर्सरी थाल्नुभएका फार्मका प्रबन्ध निर्देशकसमेत रहनुभएका राईले सदरमुकाम दिक्तेल नजिक पर्ने नेर्पाको तालखर्कस्थित २० रोपनी जग्गामा किबी खेती पनि गर्नुभएको छ ।
थोरै लगानीले धेरै आम्दानी गर्न सकिने भएकाले किबी खेती सुरु गरेको राईले बताउनुभयो । “तीन वर्ष पहिले रोपेको बिरुवाले यस वर्षबाट फल दिन थालेको छ ।” उहाँले भन्नुभयो, “सुरुबाटै राम्रो फल दिएकाले आगामी दिनमा अझै बढाउने तयारी गरेको छु ।”
कानूनमा बि.एल. तथा समाज शास्त्र र राजनीतिक शास्त्रमा स्नातकोत्तर गर्नुभएका राईले विभिन्न पेसा छाडेर कृषि पेसा अपनाउनुभएको हो । ४५ वर्षीय राईले लामो समयसम्म विभिन्न क्याम्पसमा अध्यापन तथा वकालतको काम गर्नुभएको थियो । राईको फार्ममा किबीसँगै पाउलोनिया, सिताके च्याउ, कुरिलो, स्याउ, नास्पातीका साथै विभिन्न प्रजातिका माछासमेत लगाइएको छ ।